तपाईँ सुन्दै हुनुहुन्छः

‘सङ्घीय बजेटको उपेक्षामा कर्णाली राजमार्ग र जुम्ला अस्पताल’

जुम्ला । सङ्घीय सरकारको बजेटमा कर्णालीको जीवन रेखा मानिने कर्णाली राजमार्ग र मुलुकै भरोसा केन्द्रका रुपमा विकसित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई उपेक्षा गरिएको छ ।

आगामी आर्थिक वर्षमा २०७९/८० का लागि जेठ १५ गते अर्थमन्त्री जनार्दन शर्माले राजस्व र व्ययको वार्षिक अनुमानसहितको १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट सार्वजनिक गर्नुभयो । जस अन्तर्गत मुलुकका सातै प्रदेशका विशेष महत्त्वका आयोजना र ७ सय ५३ स्थानीय तहका विभिन्न योजना बजेटमा समेटिएका छन् ।

तर, २०६८ सालमा स्थापना भई कर्णालीका १० सहित सुदूरपश्चिमका ३ गरी १३ जिल्लामा विशेषज्ञ सेवा दिनुका साथै एमबिबिएस, एमडी, एमएस, विएनएस लगायतका १० वटा कार्यक्रम सञ्चालन गरेको कर्णाली स्वास्थ्य विज्ञानलाई बजेटमा उपेक्षा गरिएको कर्णालीवासीको गुनासो छ ।

नागरिक अगुवा राजबहादुर महत भन्नुहुन्छ,“कर्णाली राजमार्गमा बजेट नछुटाउनु र कुनै ठोस नीति नै नल्याउनु सवारी दुर्घटनामा परी नागरिकले अकालमै ज्यान गुमाउनु पर्ने विद्यमान स्थिति माथिको निर्मम नजर अन्दाज हो ।”

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व रजिस्टार विश्वराज काफ्लेले बजेटमा प्रतिष्ठानलाई उपेक्षा गर्नुलाई प्रतिष्ठानलाई सकाउने खेल भएको प्रतिक्रिया दिनुभएको छ ।

सङ्घीय सांसद गजेन्द्र बहादुर महतले कर्णाली प्रतिष्ठानमा नियमित बजेट आइरहने बताउनुभयो । समग्रमा कर्णाली र जुम्लाको लागि बजेट सन्तोषजनक रहे पनि कार्यान्वयनमा चुनौती देखिएको उहाँको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button