सात जनाको मृत्युले धनुषाको तुलसी गाउँ नै शोकमा
जनकपुरधाम । तारा एअरको विमान दुर्घटनामा परी धनुषाको मिथिला नगरपालिका–११ तुलसी पाटोका एकै परिवारका ७ जनाको मृत्यु भएपछि गाउँ नै शोकमा डुबेको छ ।
हिजोदेखि बेपत्ता भएको विमान मुस्ताङ जिल्लाको थासाङ्ग गाउँपालिकाको वडा २ सानसुरेमा दुर्घटनाग्रस्त अवस्थामा आज बिहान भेटिएर सबै यात्रीको मृत्यु भएको खबरपछि सिङ्गो गाउँ नै शोकमा डुबेको छ ।

विमान दुर्घटनाग्रस्त भएर क्षतविक्षत अवस्थामा भेटिएपछि सासको आसमा बसेका परिवारका सदस्यहरु मर्माहत भएका छन् । तारा एअरबाट जोमसोम हुँदै मुक्तिनाथको दर्शन गर्न जाने क्रममा राजन कुमार गोले, उहाँका बुबा इन्द्र बहादुर गोले, आमा राममाया तामाङ, काका पुरुषोत्तम गोले, काकी तुलसा देवी तामाङ, मामा मकर बहादुर तामाङ र माइजू सुकुमाया तामाङसहित २२ जनाको मृत्यु भएको छ ।
बिहानसम्म बाँचेको आस भए पनि दुर्घटनाको पुष्टि भएपछि अहिले गोले परिवारका बाँकी सदस्यहरूको पीडा कहालीलाग्दो भएको छ । गोले परिवारमा सान्त्वना दिन गाउँका अतिरिक्त विभिन्न राजनीतिक दलका नेता र प्रदेश सरकारका मन्त्रीहरू पुगिरहेका छन् ।
मृतक राजन कुमार गोले नेकपा एकीकृत समाजवादी पार्टीका जिल्ला कमिटी सदस्य पनि हुनुहुन्थ्यो ।
यसैबिच प्रदेश नंं २ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शत्रुधन महतोले पीडित परिवारलाई भेटेर सान्त्वना दिनुभएको छ ।
प्रदेश नंं २ का भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवले विमान दुर्घटनामा परेर धनुषाको मिथिला नगरपालिका–११ का एकै परिवारका ७ जनाको मृत्युको घटनाले स्तब्ध बनेको जनाउँदै शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्नुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्