तपाईँ सुन्दै हुनुहुन्छः

अछाममा विद्युत् तथा टेलिफोन सेवा पटक पटक अवरुद्ध

अछाम । पछिल्लो समय अछाम जिल्लामा विद्युत् तथा टेलिफोन अवरुद्ध भइरहेको छ । हावाहुरी तथा चट्याङ परिरहेको अवस्थामा सेवा प्रभावित हुँदै आइरहेको हो ।

सिलगडी–मङ्गलसेन ३३ केभी विद्युत् प्रसारण लाइन पटक पटक अवरुद्ध हुँदा सेवाग्राही समस्यामा परेका छन् ।जिल्लाको ढकारी गाउँपालिकामा करिब एक हप्तादेखि विद्युत् सेवा पूर्ण रुपमा अवरुद्ध छ । केही दिनअघि आएको हावाहुरी सहितको वर्षाले गर्दा अवरुद्ध भएको विद्युत् सेवा अझै पनि सुचारु हुन सकेको छैन ।

हावाहुरी सहितको वर्षाले अवरुद्ध भएको विद्युत् सुचारु नहुँदा उपभोक्ताहरू पनि मारमा परेका छन् । साथै विद्युत् अवरुद्ध हुँदा पालिकामा सञ्चालित सञ्चार माध्यम, विभिन्न कार्यालयका काम, तथा विद्यार्थीहरूको दैनिक गृहकार्य लगायतका घरायसी काममा समेत बाधा पुगेको छ ।

सदरमुकामको आसपासका पालिकामा बिजुली बत्ती भए पनि भौगोलिक रूपमा विकट मानिने ढकारी गाउँपालिकामा भने एक हप्तादेखि बत्ती नहुँदा मोबाइल चार्ज, टेलिकम नेटवर्क समेत नहुँदा पालिका क्षेत्रमा फोन सेवा सञ्चालनमा समेत बाधा पुगेको स्थानीय प्रेम रिमालको भनाइ छ ।

विद्युत् सेवा अवरुद्ध भएको एक हप्ता बितिसक्दा समेत सम्बन्धित निकायले पहल नगरेकाले छिटो भन्दा छिटो विद्युत् सेवा सुचारु गर्न सम्बन्धित निकाय सँग स्थानीयहरूको माग रहेको छ ।

अछाम वितरण केन्द्रले मर्मत कार्य जारी रहेको बताएको छ । विभिन्न ठाउँमा पोल तथा तारमा क्षति पुगेकोले मर्मत कार्य ढिलो भएको र अब केही दिनभित्रै सेवा सुचारु हुने बताइएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button