‘पोखरालाई समृद्ध बनाउने योजनासहित कामको थालनी गरिन्छ’
पोखरा । पोखरा महानगरपालिकाका नवनिर्वाचित प्रमुख धनराज आचार्यले गण्डकी प्रदेशको राजधानी पोखरालाई समृद्ध बनाउने योजनासहित कामको थालनी गरिने बताउनुभएको छ ।

पोखरा महानगरपालिकामा आज पाँच दलीय गठबन्धनका उम्मेदवारको विजयी र्यालीपछिको सभामा उहाँले शपथ र पदभार ग्रहणपछि चुनावी घोषणापत्रअनुसार नै कार्ययोजना बनाएर काम अघि बढाइने प्रतिबद्धता व्यक्त गर्नुभयो । प्रमुख आचार्यले भन्नुभयो, “समग्र पोखराको समृद्धिका लागि भोलिदेखि नै हामी कामको थालनी गर्नेछौँ, अनावश्यक उद्घाटन र कम महत्त्वका कार्यक्रममा समय व्यतीत गर्ने छैनौँ ।”
प्रमुख आचार्यले महानगरमा एक महिनाभित्रमा सेवाग्राहीले सुधारको अनुभूति गर्ने गरी व्यवस्थित रूपमा सेवा प्रवाह गरिने प्रतिबद्धता जनाउनुभयो । सुशासन र प्रविधिमा मुख्य जोड दिइने उहाँको भनाइ छ ।
पदबहालीसँगै निर्वाचित जनप्रतिनिधिको ‘काउन्ट डाउन’ सुरु हुने भएकाले विकास योजनाको गहन छलफलका लागि जनप्रतिनिधि र महानगरका महाशाखा प्रमुखसहितको ‘क्लोज क्याम्प’ तत्कालै राख्ने उहाँले बताउनुभयो ।
आचार्यले महानगरभित्र म भन्ने होइन हामी भनेर काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “वडाध्यक्ष तथा सदस्य छुट्टै कार्यक्षेत्रबाट आएका हौँ । स्वभाव नमिल्न सक्छ तर महानगरभित्र राजनीति र पार्टीको कुरा गर्ने छैनौँ ।”
प्रमुख आचार्यले पदभार ग्रहणपछि पहिलो निर्णय नै जन्म, विवाह र मृत्यु दर्ता निःशुल्क गर्ने घोषणा समेत गर्नुभयो । पोखरालाई पर्यटकीय राजधानी बनाउने विषयलाई समेत कार्यान्वयनमा लैजाने उहाँले प्रतिबद्धता जनाउनुभयो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले पोखराका नवनिर्वाचित जनप्रतिनिधिको शपथ ग्रहण कार्यक्रम बिहीबार बिहान राखेको छ ।
कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय उपाध्यक्ष केशवलाल श्रेष्ठले निर्वाचनमा जनतासँग गरिएको वाचा र चुनावी घोषणापत्रको कार्यान्वयन गर्ने गरी काम गर्न निर्वाचित जनप्रतिनिधिलाई आग्रह गर्नुभयो ।
नेपाली काँग्रेसका सह–महामन्त्री जीवन परियारले निर्वाचित प्रतिनिधि पोखरावासी सारा जनताको प्रतिनिधि रहेकाले सबै जनतालाई समान रूपमा व्यवहार हुने गरी काम गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेपाली काँग्रेसका नेता एवं पूर्व मन्त्री यज्ञबहादुर थापा, नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य दीपक कोइराला, राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश अध्यक्ष शङ्कर बराल, नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बराल लगायतले गठबन्धनका उम्मेदवारको जितले पोखराको विकासमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
पोखरा महानगरको आज बिहान घोषणा गरिएको अन्तिम मत परिणामअनुसार गठबन्धनबाट महानगर प्रमुखमा नेकपा (एकीकृत समाजवादी) का धनराज आचार्य र उपप्रमुखमा नेकपा (एमाले) का मञ्जुदेवी गुरुङ विजयी हुनुभएको हो ।








प्रतिक्रिया राख्नुहोस्