लुम्बिनी प्रदेश सभाको बैठक: सांसदहरूद्वारा जनसरोकारका विषय उठान
रुपन्देही । लुम्बिनी प्रदेश सभाको १० औँ अधिवेशनको तेस्रो बैठकमा सांसदहरुले जनसरोकारका विषय उठाउनुभएको छ ।
बैठकमा शून्य समय र विशेष समय लिएर बोल्ने सदस्यले महँगी बढेको र विकास निर्माण ठप्प हुँदा नागरिक समस्यामा परेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो

प्रदेशसभा सदस्य विष्णु पन्थीले कपिलवस्तुको वाणगंगा नगरपालिका–२ को भक्तौली भगाहा खोलाको पुल भत्किएका महिनौँ बित्दा समेत प्रदेश सरकारले बनाउन चासो नदिँदा सर्वसाधारण खोलामा जोखिमपूर्ण आवतजावत गर्न बाध्य भएको बताउनुभयो ।
प्रदेशसभा सदस्य दीपा विकले लामो समयदेखि भइरहेको अस्वाभाविक मूल्यवृद्धि नियन्त्रणमा सरकार गम्भीर नभएको बताउनुभयो । उहाँले ग्याँस, डिजेलको अत्यधिक मूल्यवृद्धिले जनताको दैनिक चल्न छोडेको बताउनुभयो ।
सांसद तारा जिसीले सरकार भ्रष्टाचार, माफियातन्त्र र सेटिङका आधारमा चल्न थालेको बताउनुभयो ।
बुधवारको बैठकमा प्रदेशका शिक्षा, विज्ञान युवा तथा खेलकुद मन्त्री बसिउद्धिन खाँले ‘प्रदेश खेलकुद विकास पहिलो संशोधन अध्यादेश २०७८’ स्वीकृत गरियोस् भन्ने प्रस्ताव पेस गर्नुभएको छ । प्रतिपक्ष मौन बसेपछि अध्यादेश सर्वसम्मतिले पारित भएको थियो ।
बुधवारको बैठकले प्रदेश सभाको कार्य व्यवस्था परामर्श समितिका सदस्यको पनि हेरफेर गरेको छ । परामर्श समितिमा एमालेका प्रदेशसभाका प्रमुख सचेतक भूमिश्वर ढकाल, भोजप्रसाद श्रेष्ठ, नारायणप्रसाद आचार्य, सरस्वती गौतम, काँग्रेसका निर्मला क्षेत्री, रमा अर्याल, माओवादीका तुलाराम घर्ती, पार्वती पुन गहतराज, जसपाकी निर्मला मुडभरी भट्टराई र जनमोर्चाकी तारा जिसी हुनुहुन्छ ।
सभामुख पूर्णबहादुर घर्तीले प्रतिपक्षसहितका दलहरूको सुझाव एवं सिफारिस अनुसार कार्य व्यवस्था परामर्श समितिको पुनर्गठन गरी सदस्य मनोनीत गरिएको जानकारी सभामा गराउनुभएको थियो ।







प्रतिक्रिया राख्नुहोस्