व्यासमा नौ उम्मेदवारको धरौटी जफत

तनहुँ। तनहुँको व्यास नगरपालिकाको प्रमुखमा उम्मेदवारी दिएका नौ जनाको धरौटी जफत भएको छ । स्थानीय तह निर्वाचनमा कूल खसेको १० प्रतिशत मत प्राप्त गर्न नसकेपछि प्रमुखका उम्मेदवार बनेका उनीहरुको धरौटी जफत भएको हो ।
व्यास नगरपालिकाको निर्वाचनमा ३० हजार २४७ मत खसेको थियो । कानुनी प्रावधानअनुसार उक्त सङ्ख्याको १० प्रतिशत मत प्राप्त गर्नुपर्नेमा दुई जनाबाहेक अन्यको धरौटी जफत भएको हो । धरौटी जफत हुनेमा नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, विवेकशील साझा, मङ्गोल नेशनल अर्गनाइजेशन, मौलिक जरोकिलो पार्टी, नेकपा माक्र्सवादी लेनिनवादी र दुई स्वतन्त्र उम्मेदवार छन् ।
व्यास नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका बैकुण्ठनाथ न्यौपाने १२ हजार ७८ मत प्राप्त गरी विजयी हुनुभएको छ । प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले ११ हजार ८०२ मत प्राप्त गर्नुभयो । उहाँहरु दुई जनाको मात्रै धरौटी सुरक्षित भएको निर्वाचन कार्यालय तनहुँले जनाएको छ ।
नगरप्रमुखमा माओवादी केन्द्रका अतिन्द्रकेशरी न्यौपानेले ६५९, राष्ट्रिय प्रजातन्त्र पार्टीका दौलत अधिकारीले ५४६, राष्ट्रिय जनमुक्ति पार्टीका मीना थापाले १६५, विवेकशील साझा पार्टीका रमेशप्रसाद आचार्यले १३९, मङ्गोल नेशनल अर्गनाइजेशनका अनिता थापा मगरले ५३, मौलिक जरोकिलो पार्टीका रमेश पौडेलले ४२, नेकपा (माले)का अञ्जना थापाले २९, स्वतन्त्र उम्मेदवार पार्वती कार्कीले ४१ र धनबहादुर परियारले १७ मत प्राप्त गर्नुभएको छ ।
उपप्रमुखतर्फ आठ जनामध्ये ६ जनाको धरौटी जफत भएको छ । व्यास नगरपालिकाको उपप्रमुखमा कांग्रेसका इन्दिरा दरै १३ हजार ४९४ मत प्राप्त गरी विजयी हुनुभएको थियो । प्रतिस्पर्धी नेकपा (एमाले)का वसुन्धरा घर्तीले १० हजार दुई मत प्राप्त गर्नुभयो । उहाँहरु दुई जनाको धरौटी सुरक्षित भएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीकी चन्द्रावती पन्थले ७१९, नेकपा (एकीकृत समाजवादी)की मनुमाया श्रेष्ठले ७०६, माओवादी केन्द्रकी देवा सुर्खालीले ६८२, राष्ट्रिय जनमुक्ति पार्टीका बहादुरसिं थापाले ११६, विवेकशील साझाकी हसिना बानुले ८४ र मङ्गोल नेशनल अर्गनाइजेशनकी श्रीमाया थापाले ५४ मत प्राप्त गर्नुभएको छ । १० प्रतिशत मत प्राप्त गर्न नसकेपछि उहाँहरुको धरौटी जफत भएको छ ।
ज्येष्ठ नागरिक र दीर्घरोगीलाई एम्बुलेन्स निःशुल्क
स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिले ज्येष्ठ नागरिक र दीर्घरोगीलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने निर्णय गरेका छन् । आँबुखैरेनी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष शुक्र चुमानले पदभार ग्रहण गर्दै गर्भवती महिला, ६० वर्ष कटेका ज्येष्ठ नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने निर्णय गर्नुभएको हो ।
आकस्मिक बिरामी, दीर्घरोगी, असहाय, अशक्तलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने निर्णय गरिएको अध्यक्ष चुमानले बताउनुभयो । आवश्यक परेको खण्डमा गाउँपालिका अध्यक्षले प्रयोग गर्ने सवारीसाधनलाई समेत बिरामी बोक्नका लागि प्रयोग गरिने उहाँले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्