सरकारको नीति तथा कार्यक्रम : मिश्रित प्रतिक्रिया
काठमाडौं ।सरकारले ल्याएको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममाथि दलका नेताले मिश्रित प्रतिक्रिया दिएका छन् ।
नीति तथा कार्यक्रममाथि टिप्पणी गर्दै नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले नीति तथा कार्यक्रममा समावेश धेरै विषय पुरानै दोहोरिएको बताउनुभयो ।
“नीति तथा कार्यक्रममा गर्न सकिने र नसकिने सबै विषयलाई सोलोडोलो कार्यक्रम राखिएको छ”, उहाँले भन्नुभयो, “हाम्रो विकासको खर्च रु चार अर्बदेखि रु पाँच खर्ब हुन्छ, कम्तीमा रु २५ खर्ब यो नीति तथा कार्यक्रमले माग गरेको छ, त्यस कारण यो कार्यान्वयन हुन्छ कि हुँदैन तपाई आफैँ बुझ्नुहोस् ।”
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नीति तथा कार्यक्रम समुन्नत नेपाल बनाउन सक्ने खाकासहित आएकाले दिगो शान्तिका साथ मुलुकलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “नीति तथा कार्यक्रमले देशलाई समुन्नत गर्ने जुन हाम्रो सपना छ, त्यसलाई कार्यान्वयन गर्ने किसिमको यो कार्यक्रम छ, यसले अहिले मुलुकमा देखिएको आर्थिक विकासलाई अगाडि बढाउनुपर्ने अभियानलाई अगाडि बढाउँछ, यो केवल आश्वासन मात्रै होइन, कार्यान्वयन हुन्छ ।”
जनता समाजवादी पार्टी नेपालका सङ्घीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले नीति तथा कार्यक्रम समग्रमा सकारात्मक भएको टिप्पणी गर्दै बजेट सकारात्मक भए पनि समग्र आर्थिक विकासलाई नीति तथा कार्यक्रम अपुग भएको बताउनुभयो । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नीति तथा कार्यक्रम मुलुकको कृषि, ऊर्जा विकास, पर्यटन प्रवद्र्धनलगायतको क्षेत्रलाई उच्चतम प्राथमिकता दिएकाले पनि सकारात्मक भएको टिप्पणी गर्नुभयो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले विगतमा जस्तै परम्परागत बजेट भएको कारण कार्यान्वयनमा समस्या आउने टिप्पणी गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्