तपाईँ सुन्दै हुनुहुन्छः

गढी गाउँपालिका अध्यक्ष चौधरीद्वारा पदभार ग्रहण

सुनसरी । सुनसरीको गढी गाउँपालिका नवनिर्वाचित अध्यक्ष आश नारायण चौधरीले पदभार ग्रहण गर्नुभएको छ ।

पदभार गर्दै चौधरीले गाउँपालिका भित्रका विपन्न, पिछडा वर्ग, असक्त, असहाय र ज्येष्ठ नागरिकलाई स्वास्थ्यमा पहुँच पुर्‍याउन निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने निर्णय गर्नुभएको छ ।

पालिकाले महिला, दलित, सुत्केरी महिला तथा पूर्ण रुपमा अपाङ्गता भएका व्यक्तिहरूलाई स्वास्थ्यमा पहुँच पुर्‍याई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने साथै पालिकाका अन्य नागरिकका हकमा पनि न्यूनतम सेवा लिएर एम्बुलेन्स सेवा प्रदान गरिने अध्यक्ष चौधरीले बताउनुभयो ।

प्राकृतिक प्रकोप तथा आगलागीबाट प्रभावित जनतालाई तत्कालै राहत दिन व्यवस्था गरिने, पालिका भित्रका जनताहरूको सेवाको लागि २४ सै घण्टा आपतकालिन सेवा प्रवाहका लागि गुनासो सङ्कलन तथा सुनुवाइको व्यवस्था गर्न हेल्प डेस्क तथा टोल फ्री नम्बर जडान गर्ने निर्णय पनि चौधरीले गर्नुभएको छ ।

वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित भएर आएका नयाँ जनप्रतिनिधिहरूले आगामी ५ वर्षमा गढी गाउँपालिका नमूना गाउँपालिकाको रुपमा विकास गर्ने, पालिकामा सुशासन कायम गर्ने, शिक्षा, स्वास्थ्य, खेलकुद, सडक, खानेपानी, विद्युत्, सरसफाइ जस्ता विकासका आधारभूत आवश्यकता पुरा गर्ने, गाउँमै रोजगारीको अवसर सृजना गर्ने, कृषि, पर्यटन, घरेलु उद्योगहरूको विकास, प्रवर्द्धन गर्ने लगायतका एजेन्डाहरू बनाएका छन् ।

उल्लेखित एजेन्डा आगामी ५ वर्षभित्र प्राथमिकताका आधारमा पुरा गर्दै जाने चौधरीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button