पर्साका १३ पालिका प्रमुख तथा अध्यक्षहरूको शपथ ग्रहण सम्पन्न
वीरगञ्ज । पर्साको १३ स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूको शपथ ग्रहण कार्यक्रम जिल्ला समन्वय समिति पर्सामा सम्पन्न भएको छ ।
मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलले १३ वटा स्थानीय तहका निर्वाचित जनप्रतिनिधिलाई शपथ ग्रहण गराउनुभएको थियो ।

पर्साका १४ वटा पालिकामध्ये वीरगञ्ज महानगरपालिकामा भने अझै मतगणना जारी रहेकोले अन्य १३ पालिकाका विजयी अध्यक्ष तथा प्रमुखहरूलाई शपथ ग्रहण गराइएको पौडेलले बताउनुभयो ।
कार्यक्रममा मुख्य निर्वाचन अधिकृत एवं पर्साका जिल्ला न्यायाधीश समेत रहनुभएका पौडेलले राज्य तथा जनताप्रति उत्तरदायी रही काम गर्न निर्वाचित जनप्रतिनिधिलाई आग्रह गर्नुभयो ।
पर्साका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले पर्सामा नवनिर्वाचित जनप्रतिनिधिहरूले अब जनभावना अनुरूप सबैसँग समन्वय गरी जिल्लाको समृद्धि र विकासमा काम गर्ने विश्वास प्रकट गर्नुभयो ।
कार्यक्रममा पर्साका कोष नियन्त्रक रुद्रप्रसाद भटराईले पर्सामा रहेका १४ वटा स्थानीय पालिकाले बर्षेनि बेरुजुको रकम थपिँदै गएकोमा दुःख प्रकट गर्दै निर्वाचित जनप्रतिनिधिले यसतर्फ ध्यान दिनु पर्ने कुरामा जोड दिनुभयो ।
कार्यक्रममा निर्वाचित जनप्रतिनिधिहरूको पक्षबाट बोल्दै पटेर्वा सुगौलीका उपाध्यक्ष दिनेश चौधरीले आफूहरूलाई विकास निर्माण, समृद्धि र जनताको सेवा गर्न जनताले निर्वाचित गरेको बताउँदै विगतमा जे जस्तो भए पनि अब ५ वर्षसम्म जनउत्तरदायी भएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्