तपाईँ सुन्दै हुनुहुन्छः

सप्तरीको डाक्नेश्वरी नगरपालिकाको प्रमुख र उपप्रमुखमा एमाले विजयी

सप्तरी । सप्तरीको डाक्नेश्वरी नगरपालिकाको आज सार्वजनिक भएको अन्तिम मत परिणाम अनुसार प्रमुख र उपप्रमुखमा नेकपा एमालेका उम्मेदवार विजयी हुनुभएको छ । 

मेयरमा एमालेका राम लखन मलाहले ५ हजार ८ सय ५४ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका नारायण यादवले ५ हजार ३ सय ९६ मत प्राप्त गर्नुभएको छ । 

त्यस्तै, उपप्रमुखमा एमालेकी मीरा कुमारी यादवले ६ हजार १ सय ९७ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी नेपालकी इन्दु देवी यादवले ५ हजार २०९ मत प्राप्त गर्नुभयो ।

जम्मा १० वडा रहेको नगरपालिकामा एमाले र काँग्रेसले ४/४, जसपा र लोसपाले १/१ वडा अध्यक्षमा जित हासिल गरेको छ ।

सप्तरीमा हालसम्म घोषित १७ स्थानीय तहको परिणाम अनुसार काँग्रेसले ५ नगर प्रमुखमा जित हासिल गरेको छ । यसैगरी एमाले र जसपाले ३/३, लोसपा र जनमत पार्टीले २/२, नेकपा (एकिकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र) ले १/१ स्थानीय तहको प्रमुखमा जित हासिल गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button