तपाईँ सुन्दै हुनुहुन्छः

दीर्घकालीन हुने गरी सहरी नीति बनाइने: मन्त्री झाँक्री

काठमाडौँ । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले परिमार्जित सहरी नीति २०६४ दीर्घकालीन खालको बनाइने बताउनुभएको छ ।

सहरी विकास मन्त्रालयद्वारा शुक्रवार राजधानीमा आयोजित ‘राष्ट्रिय सहरी नीति तथा हरित उत्थानशील र समावेशी विकास’ विषयक कार्यक्रममा गर्दै मन्त्री झाँक्रीले परिमार्जित सहरी नीतिको मस्यौदा अन्तिम चरणमा पुगेको बताउनुभयो ।

मन्त्रालयले सङ्घीयताको मर्मअनुसार सहरी नीति परिमार्जन गर्न लागेको बताउँदै उहाँले परिमार्जनपछि उक्त नीतिले सबैको आवश्यकता समेट्ने बताउनुभयो ।

file photo

मन्त्रालयका सचिव डा. रमेश सिंहले बसाइसराई बढ्दो सहरीकरणका लागि चुनौती बनेको बताउनुभयो । उहाँले सङ्घीयता कार्यान्वयनका लागि स्थानीय तहको अधिकार क्रमसँगै वितरण गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल नगरपालिका संघका प्रमुख कार्यकारी अधिकृत कलानिधि देवकोटाले परिमार्जित सहरी नीति कार्यान्वयनका लागि सहजीकरण गर्न आफूहरू तयार रहेको बताउनुभयो ।

राष्ट्रिय योजना आयोगका सदस्य डा. पुष्प रमण वाग्लेले स्वच्छ, सफा र पहिचानसहितको सहरको विषयलाई परिमार्जित नीतिले समेट्नुपर्ने बताउनुभयो । सुन्दर सहर निर्माणका लागि आयोग सधैँ सहयोग र सहकार्य गर्न तयार रहेको डा. वाग्लेले बताउनुभयो ।

सहरी विज्ञ डा.महेन्द्र सुब्बाले नेपालमा सहरीकरणका क्षेत्रमा देखिएका चुनौतीका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।

मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर रोशन श्रेष्ठले कार्यक्रममा राष्ट्रिय सहरी नीतिको मस्यौदा प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा मन्त्रालयका अधिकारीहरूसहित युएन ह्याबिटेट नेपाल, एसियाली विकास बैङ्क, नेपाल नेशनल अर्बन फोरमका प्रतिनिधि लगायतको सहभागिता थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button