तपाईँ सुन्दै हुनुहुन्छः

काभ्रेमा ११ वटा स्थानीय तहको मत गणना सम्पन्न (विजेताको नामावलीसहित)

काभ्रेपलाञ्चोक । जिल्लाको १३ वटा स्थानीय तहहरू मध्ये ११ वटाको मत गणना सम्पन्न भइसकेको छ । जिल्लाको पाँचखाल नगरपालिका र महाभारत गाउँपालिकाको मत गणना भने जारी नै रहेको  छ ।

धुलिखेल नगरपालिका, नमोबुद्ध नगरपालिका, बनेपा नगरपालिका, पनौती नगरपालिका, मण्डनदेउपुर नगरपालिका, भुम्लु गाउँपालिका, रोशी गाउँपालिका, तेमाल गाउँपालिका, खानीखोला गाउँपालिका, बेथानचोक गाउँपालिका र चौँरीदेउराली गाउँपालिकाको मत गणना कार्य सम्पन्न भइसकेको छ ।

मत गणना सम्पन्न भइसकेका अधिकांश स्थानीय तहको प्रमुख/उप–प्रमुख, अध्यक्ष/उपाध्यक्ष पदमा गठबन्धनले जित हासिल गरेको छ । जिल्लाको बनेपा नगरपालिका र पनौती नगरपालिकाको उप–प्रमुखमा मात्रै नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । 

धुलिखेल नगरपालिकाका
धुलिखेल नगरपालिकाको मेयरमा नेकपा एमालेका अशोक ब्याञ्जु विजयी भएका छन् । स्वतन्त्र उम्मेदवार विदुर बस्नेतलाई ९४० मतले पराजित गर्दै ब्याञ्जु मेयरमा निर्वाचित भएका हुन् । ब्यान्जुले ८ हजार ३ सय ४९ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी बस्नेतले ७ हजार ४ सय ९ मत प्राप्त गरेका थिए । 

उपमेयरमा भने नेपाली काँग्रेसका नीराजन जङ्गम विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी लालतारा अधिकारीलाई १२० मतले पराजित गर्दै जङ्गम निर्वाचित भएका हुन् । नेपाली काङ्ग्रेसका  जङ्गमले  ७ हजार ९ सय १० मत प्राप्त गरे भने अधिकारीले ७ हजार ७ सय ९० मत प्राप्त गरेका थिए ।

नमोबुद्ध नगरपालिकाका
नमोबुद्ध नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका कुन्साङ लामा र उपप्रमुखमा माओवादी केन्द्रका रत्नबहादुर लामा विजयी भएका छन् । प्रमुखमा विजयी लामाले निकटतम प्रतिस्पर्धी एमालेका राजन भुर्तेललाई ५ हजार ३८९ मतान्तरले पराजित गरे। लामाले ११ हजार २११ र भुर्तेलले ५ हजार ८२२ मत प्राप्त गरेका छन् । 

उपप्रमुखमा निकटतम प्रतिस्पर्धीलाई १ हजार ६४४ मतले पछि पार्दै गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार रत्नबहादुर लामा विजयी भए । लामाले ८ हजार १८७ र एमालेकी सम्झना लामाले ६ हजार ५४३ मत प्राप्त गरिन् ।

बनेपा नगरपालिका
बनेपा नगरपालिकाका प्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार शान्ति शाक्य विजयी भएका छन् । उनी १३ हजार ७ सय ९३ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रत्न कुश रंजितकारले ११ हजार ८ सय ३५ मत प्राप्त गरेका हुन् । 

उप–प्रमुखमा भने नेकपा एमालेकी उम्मेदवार विमला सापकोटा दाहाल विजयी भएकी हुन् । दाहालले ११ हजार ९ सय ९२ मत ल्याएर विजयी भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका रगुवर चौ प्रधानलाई १४ सय ७७ मतले पराजित गरेकी हुन् । प्रधानले १० हजार ५ सय १५ मत प्राप्त गरेका छन् ।

मण्डनदेउपुर नगरपालिका
मण्डनदेउपुर नगरपालिकाको प्रमुखमा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष टोकबहादुर वाइबा विजयी भएका छन्। वाइवाले उनका प्रतिद्वन्द्वी एमालेका विदुर सापकोटालाई १ हजार ५५ मतले हराएका हुन् । नगर प्रमुख पदमा वाइबाले ९ हजार ४ सय ६ मत ल्याउँदा उनका प्रतिस्पर्धी एमालेका उम्मेदवार विदुर सापकोटाले ८३५१ मत ल्याएका छन् । 

उप–प्रमुखमा नेपाली काँग्रेसले जितेको छ । काँग्रेसका उम्मेदवार विष्णुमणि नेपाल भारी मतान्तरका साथ विजयी भएका हुन् । नेपालले उनका प्रतिद्वन्द्वी नेकपा एमालेकी उम्मेदवार सरिता ढकाललाई ४ हजार ३ सय ८१ मतले पराजित गरेका हुन् । उप–प्रमुखका विजयी विष्णुमणि नेपालले ११३०५ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी एमालेकी सरिता ढकालले ६९२४ मत ल्याएकी छिन् ।

चौँरीदेउराली गाउँपालिकामा
चौँरीदेउराली गाउँपालिकामा गठबन्धनबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार रेणुका चौलागाई गाउँपालिका अध्यक्षमा निर्वाचित भएकी छिन् । रेणुकाले उनका प्रतिद्वन्द्वी एमालेका जित राम लामालाई ७ सय ६५ मतले हराएकी हुन् । रेणुका ६ हजार २२८ मत पाएर निर्वाचित भएकी छिन भने उनका प्रतिद्वन्द्वी एमालेका जित राम लामाले ५४६३ मत पाएका छन् । 

गाउँपालिकाको उपाध्यक्षमा गठबन्धनबाट नेपाली काँग्रेसको उम्मेदवार शेर बहादुर लामा निर्वाचित भएका छन् । लामा भारी मतले विजयी भएका हुन् । लामाले उनका प्रतिद्वन्द्वी एमालेकी बविता खरेल गौतमलाई ३ हजार ६ सय ७० मतले हराएका हुन् । लामाले ७२१९ मत पाएका छन् भने उनको प्रतिद्वन्द्वी नेकपा एमालेकी बविता खरेल गौतमले ३५४९ मत पाएकी छिन् ।

खानीखोला गाउँपालिका
खानीखोला गाउँपालिकाको अध्यक्षमा गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका इन्द्रबहादुर थिङ (छिन्ताङ) र उपाध्यक्षमा काँग्रेसका दोर्जेमान जिम्वा विजयी भएका छन् । अध्यक्षमा निर्वाचित थिङले ४ हजार ४ सय ८५ मत र उनका निकटतम प्रतिस्पर्धी एमालेका शेखर लामाले ३ हजार १ सय ५६ मत पाए । 

अध्यक्षमा थिङ्ले १३३० मतान्तर ले जितेका हुन् । पालिकाको उपाध्यक्षमा जिम्वाले ४ हजार ३ सय २७ मत र एमालेकी रुकमणि गुरुङले २ हजार ९ सय ८७ मत प्राप्त गरे । जिम्बाले १३४१ मत अन्तरले जितेका हुन् ।

भुम्लु गाउँपालिका
भुम्लु गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र) का प्रेम बहादुर भुजेल र उपाध्यक्षमा नेपाली काँग्रेसका जितेन्द्र मान तामाङ विजयी भएका छन् । नेकपा (माओवादी केन्द्र) का भुजेलले नेकपा एमालेका प्रेम कुमार लामा (दोङ्ग) लाई १ हजार २ सय २४ मतले पराजित गरेका हुन् । भुजेलले ५,७९२ मत प्राप्त गरेका थिए भने प्रतिस्पर्धी लामाले ४,५६८ मत प्राप्त गरेका थिए । 

गाउँपालिका उपाध्यक्षतर्फ नेपाली काँग्रेसका जितेन्द्र मान तामाङ्गले २ हजार ६९ मतले विजयी भएका छन् । तामाङ्गले ६,०९८ मत प्राप्त गरेका थिए भने उनका प्रतिस्पर्धी नेकपा एमालेका कल्पना कुमारी श्रेष्ठले ४,०२९ मत प्राप्त गरेकी छिन् ।

रोशी गाउँपालिका
रोशी गाउँपालिकाको अध्यक्षमा दिनेश लामा र उपाध्यक्षमा मीमबहादुर वाइबा विजयी हुनुभएको हो । लामाले सात हजार ५३४ तथा उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का देवसागर लामाले ६ हजार ३५८ मत प्राप्त गरेका थिए । 

त्यस्तै उपाध्यक्षमा माओवादी केन्द्रका मीमबहादुरले ६ हजार ६७२ तथा उनका निकटतम प्रतिस्पर्धी एमालेकी बबिता बोहोरा क्षेत्रीले पाँच हजार ९४२ मत प्राप्त गरेका थिए ।

पनौती नगरपालिका
पनौती नगरपालिकाको प्रमुखमा गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका रामशरण भण्डारी र उपप्रमुखमा नेकपा (एमाले) की गीता बञ्जारा विजयी भएका छन् । भण्डारी १४ हजार ५० र उपप्रमुखमा बञ्जारा १२ हजार ३३७ मत प्राप्त गरी विजयी हुनुभएको हो । प्रमुख पदको निकटतम प्रतिस्पर्धी एमालेका भीम न्यौपानेले ११ हजार ७८३ मत प्राप्त गर्नुभएको छ भने उपप्रमुखमा निकटतम प्रतिस्पर्धी एकीकृत समाजवादीका छवि लाल हुमागाईँले १० हजार ३८८ मत प्राप्त गर्नुभएको छ । 

पनौती नगरपालिकाको प्रमुखको निकटतम प्रतिस्पर्धी न्यौपाने र उपप्रमुखमा निर्वाचित बञ्जारा २०७४ सालको निर्वाचनमा उपप्रमुखमा निर्वाचित हुनुहुन्थ्यो ।

बेथानचोक गाउँपालिका
बेथानचोक गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार भगवान् अधिकारी र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार तारा राणा तिमल्सिना विजयी भएका छन् । नेपाली काँग्रेसका उम्मेदवार अधिकारीले उनका प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवारलाई २८ सय ५९ मतले हराएका हुन् । 

गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार भगवान् अधिकारीले ६ हजार १९ मत पाएका छन् भने नेकपा एमालेका उम्मेदवार कमल प्रसाद तिमल्सिनाले ३१ सय ६० मत ल्याएका छन् ।

त्यस्तै गाउँपालिकाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार तारा राणा तिमल्सिनाले नेकपा एमालेका उम्मेदवार सरला लामिछाने केसीलाई ९ सय २५ मतले पराजित गरेकी हुन् । माओवादी केन्द्रकी उम्मेदवार तिमल्सिनाले ४४ सय ९८ मत पाएकी छिन् भने नेकपा एमालेकी उम्मेदवार केसीले ३५ सय ७३ मत पाएकी छिन् ।

तेमाल गाउँपालिका
तेमाल गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसबाट चन्द्र लामा विजयी भएका छन् भने उपाध्यक्षमा माओवादी केन्द्रबाट दलमान थोकर विजयी भएका छन् । लामाले उनका प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवारलाई ११ सय ७८ मतले हराएका हुन् । नेपाली काँग्रेसका उम्मेदवार लामाले ७०७८ मत ल्याएर निर्वाचित भएका छन् भने प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार इन्द्र लामाले ५९०० मतले ल्याएको छ ।

उपाध्यक्षमा गठबन्धनबाट दलमान थोकरले उनका प्रतिद्वन्द्वी नेकपा (एमाले) का उम्मेदवार समतेन लामालाई १६ सय ८८ मतले हराएका हुन् । लामाले ६६६० मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी नेकपा (एमाले) को समतेन लामाले ४९७२ मत ल्याएकी छिन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button