बीरगंज महानगर बाहेक पर्साका १३ पालिकाको परिणाम घोषणा
वीरगन्ज । वीरगन्ज महानगरपालिका बाहेक पर्साका १३ वटा पालिकाको मतगणनाको अन्तिम परिणाम घोषणा भएको छ ।
घोषित १३ पालिकामध्ये नगर प्रमुख तथा गाउँपालिका अध्यक्षमा एमाले ५, काँग्रेसले ४, जसपाले ३ र लोसपाले १ स्थानमा विजयी हासिल गरेका छन् भने उपप्रमुखमा नेपाली काँग्रेसले ७, एमालेले ५, जसपाले १ स्थानमा विजय हासिल गरेका छन् ।
आज परिणाम घोषित गाउँपालिकामध्ये जगरनाथपुरमा नेपाली काँग्रेसको टिम तथा छिपहरमाई र सखुवा प्रसौनीमा एमालेले जित हासिल गरेको छ ।
सखुवा प्रसौनी गाउँपालिकामा नेकपा एमालेका जसवन्त यादव विजयी हुनुभएको छ भने छिपहरमाई गाउँपालिकाको अध्यक्षमा एमालेकै मनोज कुमार विजयी हुनुभएको छ ।
जगरनाथपुर गाउँपालिका अध्यक्षमा नेपाली काँग्रेसका श्री कान्त यादव विजयी हुनुभएको छ । काँग्रेसले उपाध्यक्षसहित बहुमत वडा अध्यक्ष समेत जगरनाथपुर गाउँपालिकामा जितेको छ ।
बीरगंज महानगर: राजेशमानलाई ११ हजार बढी मतको अग्रता
वीरगञ्ज महानगरको पछिल्लो जानकारी अनुसार ४६ हजार ३ सय ५३ मतगणना हुँदा पाँच दलीय गठबन्धनबाट जसपाका उम्मेदवार राजेशमान सिंह निवर्तमान मेयर तथा नेकपा एमालेका उम्मेदवार विजयकुमार सरावगी भन्दा ११ हजार ५ सय ६३ मतको अन्तरले अगाडि हुनुहुन्छ ।
सिंहले २३ हजार ८ सय ५२ मत प्राप्त गर्नुभएको छ भने एमाले-लोसपा गठबन्धनका उम्मेदवार विजय सरावगीले १२ हजार २ सय ८९ मत प्राप्त गर्नुभएको छ । राप्रपाका उम्मेदवार गिरीश गिरिले १ हजार ४ सय २६ मत प्राप्त गर्नुभएको छ ।
उपप्रमुखमा पाँच दलीय गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका इम्तियाज आलमले १६ हजार ८ सय ६१ मत प्राप्त गर्नुभएको छ भने एमाले–लोसपा गठबन्धनका उम्मेदवार पुरुषोत्तम लाल झाले ३ हजार ५ सय ७६ तथा राप्रपाकी उम्मेदवार विना जयसवालले २ हजार ४ सय ८२ मत प्राप्त गर्नुभएको छ ।







प्रतिक्रिया राख्नुहोस्