दमकको प्रमुख र उपप्रमुखमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी

झापा । दमक नगरपालिकाको प्रमुख र उपप्रमुख पद सत्तारुढ गठबन्धनले जितेको छ । आज बिहान घोषित अन्तिम परिणाम अनुसार नगरप्रमुखमा गठबन्धनका तर्फबाट नगर प्रमुखका उम्मेदवार भएका राप्रपाका राम थापा र उपप्रमुखमा नेपाली काँग्रेसकी रेगिना भट्टराई प्रसाईँ निर्वाचित भएका छन् ।
नेपाली कांग्रेस, राप्रपा, माओवादी केन्द्र, जनता समाजवादी पार्टीसहितको गठबन्धनबाट उम्मेदवार हुनुभएका थापाले आफ्ना प्रतिद्वन्द्वी नेकपा एमालेकी गीता अधिकारी र उपप्रमुखमा भट्टराईले एमालेकै उम्मेदवार अम्बिका प्रसाद खनाललाई पराजित गरेका हुन् ।
निर्वाचित थापा १७ हजार ५ सय २५ मत ल्याउँदै विजयी भए भने उपप्रमुख भट्टराईले १७ हजार ७२ मत प्राप्त गरी विजयी भइन् ।
उनीहरूका प्रतिद्वन्द्वी उपप्रमुखका उम्मेदवार एमालेकी अधिकारीले १६ हजार ९६६ र खनालले १६ हजार ५७४ मत प्राप्त गरेको निर्वाचन अधिकृत केशवराज पन्तले बताउनुभयो ।
नवनिर्वाचित प्रमुख राप्रपा प्रदेश १ का अध्यक्ष र तीन वटा चुनावमा प्रमुखमा पराजित हुँदै आएको थिए भने उनीसँग पराजित भएकी अधिकारी नगरपालिकाकी निवर्तमान उपप्रमुख तथा एमालेकी केन्द्रीय सदस्य हुन् ।
१० वटा वडा रहेको नगरपालिकामा वडा न. ४ काँग्रेसका पुण्यप्रसाद दाहाल, वडा न. १० मा राजेन्द्र भण्डारी, वडा न ७ मा राप्रपाका भिमप्रसाद पौडेल र नेकपा एमालेबाट दमक १ मा हरि न्यौपाने, २ मा प्रजाजति सापकोटा, ३ मा नवीन बराल , ६ मा टेकबहादुर थापा, ८ मा दिपेश दाहाल र दमक ९ मा कुवेर भट्टराई वडाध्यक्षमा निर्वाचित भएको निर्वाचित अधिकृतको कार्यालयले जनाएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको गृह नगर दमकमा एमाले बाहेकका पार्टीले करिब २७ बर्ष पछि स्थानीय सरकारको नेतृत्व जित्न सफल भएको छ । दमकमा कुल मतदाता ५८ हजार २ सय ८१ मध्ये निर्वाचनमा भने ६८.५५ प्रतिशत अर्थात् ३९,९४३ मत खसेको थियो ।








प्रतिक्रिया राख्नुहोस्