गृहमन्त्री खाँण र कानूनमन्त्री शर्माद्वारा जसपा अध्यक्ष यादवसँग भेटघाट

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँण र कानून न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवसँग भेटघाट गर्नुभएको छ ।
यादव ललितपुर हात्तीबनस्थित निवासमा भएको भेटमा समसामयिक राजनीतिबारे छलफल भएको छ ।भेटमा समसामयिक राजनीति, सङ्घीय संसद्लाई सुचारु गर्ने, सरकारको नीति तथा कार्यक्रमलगायत सरकारद्वारा संसद्मा पेस गर्न लागिएका विभिन्न विधेयकबारे छलफल भएको गृहमन्त्री खाँणले जानकारी दिनुभयो । ‘समसामयिक राजनीति, सङ्घीय संसद्लाई सुचारु गर्ने र सरकारको नीति तथा कार्यक्रम र सरकारद्वारा संसद्मा पेस गर्न लागिएका विभिन्न विधेयकबारे भेटमा छलफल भयो । छलफल सकारात्मक भएको छ,’ गृहमन्त्री खाँणले भन्नुभयो ।
प्रतिनिधि सभाको जारी अधिवेशनमा राजनीतिक दलहरूबीचको सहमतिमा नागरिकता विधेयक पेस गर्ने विषयमा पनि भेटमा छलफल भएको छ । दलीय सहमतिमा नागरिकता विधेयक पेस गर्ने विषयमा भएको कुराकानी सकारात्मक भएको छ । गृहमन्त्री खाँणले नागरिकता विधेयकबारे पटक–पटक दलहरूसँग छलफल गर्नुभएको छ ।
बिहीबार मात्रै नागरिकता विधेयक, संसद् सुचारु गर्ने र सरकारले संसद्मा प्रस्तुत गर्न लागेका विभिन्न विधेयकका सम्बन्धमा गृहमन्त्री खाँण र कानुन मन्त्री शर्माले माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग भेटघाट गर्नुभएको थियो ।
सरकारले दलीय सहमतिमा संसद्को जारी अधिवेशनमा नागरिकता विधेयक संसद्मा पेस गर्ने तयारी अगाडि बढाएको छ ।








प्रतिक्रिया राख्नुहोस्