तपाईँ सुन्दै हुनुहुन्छः

दोलखाको भीमेश्वर नगरमा प्रमुख कांग्रेस उपप्रमुख एमाले विजयी

दाेलखा। दाेलखा भीमेश्वर नगरपालिकाको नगरप्रमुखमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका ईश्वर नारायण मानन्धर विजयी हुनु भएको छ । उपप्रमुखमा भने नेकपा एमालेका कमला बस्नेत विजयी हुनु भएको छ ।

नगरप्रमुख ईश्वर नारायण मानन्धरले आठ हजार सात सय ३२ मत ल्याउँदा प्रतिद्वन्द्वी एमालेका हरिवंश चाैलागाईले सात हजार तीन सय एक मत प्राप्त गर्नु भएको छ । २०७४ सालमा नेकपा एमालेका भरत केसीसँग झण्डै ११ सय मतान्तरमा पराजित भएका मानन्धर यो पटक भने चाैलागाई भन्दा १४ सय ३१ मत बढी ल्याएर विजयी हुनु भएको छ। 

एमाले जिल्ला कमिटीले सुरूपा भरत केसीलाई नै उम्मेदवार बनाउने निर्णय गरेको भएपनि प्रदेश कमिटीले त्यसलाई परिवर्तन गरेर चाैलागाईलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

नगरमा एमालेका हारको मुख्य कारण उम्मेदवार परिवर्तन नै रहेको एमाले कार्यकर्ताहरूको आरोप छ ।उपप्रमुखमा भने नेकपा एमालेका उम्मेदवार कमला बस्नेत सात हजार दुई सय ६४ मतका साथ विजयी हुनु भएको छ । उँहाकाे प्रतिद्वन्द्वी गठबन्धनको तर्फबाट नेकपा एकिकृत समाजवादीको उम्मेदवार संगिता पाख्रिनले छ हजार दुई सय ९१ मत ल्याउनु भएको छ ।

उपप्रमुख बस्नेत २०७४ मा पनि उपप्रमुखमा विजयी हुनुभएको थियो । त्यतिवेला बस्नेतले कांग्रेस माओवादी गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रकाे कमला कार्कीलाई पाँच हजार मतान्तरले पराजित गर्नु भएको थियो । यो पटक बस्नेतले एकिकृत समाजवादीको उम्मेदवार पाख्रिनलाई नौ सय ७३ मतान्तरमा पराजित गर्नु भएको छ ।

नौ वटा वडा रहेको भीमेश्वर नगरपालिकामा एमालेबाट वडा नम्बर २ मा स्टालिन श्रेष्ठ, वडा नम्बर ५ मा बासु श्रेष्ठ, वडा नम्बर ६ मा नविन लामा, वडा नम्बर ७ मा विनोद तामाङ र वडा नम्बर ९ मा हिमाल श्रेष्ठ विजयी भएका छन् ।

नेपाली कांग्रेसबाट वडा नम्बर १ मा माधव थामी, वडा नम्बर ३ मा हरिशरण शिवाकाेटी र वडा नम्बर ८ मा काजी बुढाथोकी विजयी भएका छन् भने वडा नम्बर ४ मा रूख चुनाव चिन्ह्रबाट नेकपा माओवादी केन्द्रकाे तारानाथ चाैलागाई विजयी भएका छन् । वडा अध्यक्षहरूमा वडा नम्बर ३ काे हरिशरण शिवाकाेटी र वडा नम्बर ६ काे नविन लामा दोहोरिए पनि अरू सबै नयाँ हुनुहुन्छ ।नगरमा प्रमुख नेपाली कांग्रेस विजयी भएपनि उपप्रमुख सहित बहुमत सदस्य भने नेकपा एमालेका विजयी भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button