मकवानपुरका नवनिर्वाचित जनप्रतिनिधिद्वारा शपथग्रहण

मकवानपुर । गत वैशाख ३० गते सम्पन्न निर्वाचन अन्तरगत मकवानपुर जिल्लाका विभिन्न आठ स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नु भएको छ । जिल्लाको दश वटा स्थानीय तहमध्ये मतगणना सम्पन्न भएका आठ वटा स्थानीय तहका प्रमुखहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नु भएको हो ।
उहाँहरूलाई मकवानपुरका मुख्य निर्वाचन अधिकृत (जिल्ला न्यायाधीश) डिल्लीरत्न श्रेष्ठले दुई चरणमा शपथ ग्रहण गराउनु भएको थियो । पहिलो चरणमा उपस्थित पाँच वटा स्थानीय तह र दोस्रो चरणमा तीन स्थानीय तहका प्रमुखहरूले शपथ ग्रहण गर्नु भएको थियो ।
पहिलो चरणमा इन्द्रसरोबर गाउँपालिका प्रमुखमा निर्वाचित देवकृष्ण पुडासैनी, भीमफेदी हिदम लामा, राक्सिराङ राजकुमार मल्ल, मकवानपुर गढी गाउँपालिका दोर्जे लामा र बकैया गाउँपालिका प्रमुख धर्म लामिछानेले शपथ ग्रहण गर्नु भएको थियो । यस्तै दोस्रो चरणमा थाहा नगरपालिका मेयरमा निर्वाचित प्रमुख विष्णुबहादुर विष्ट, मनहरी गाउँपालिका अध्यक्षमा निर्वाचित रञ्जन कालाखेती र कैलाश गाउँपालिका अध्यक्षमा निर्वाचित लोक बहादुर मोक्तानले शपथ ग्रहण गर्नुभयो ।
जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा भएको शपथ ग्रहण कार्यक्रममा बागमती प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामी, प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेलगायतले नवनिर्वाचित जनप्रतिनिधिहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नु भएको थियो । कार्यक्रममा विभिन्न राजनैतिक दलका जिल्ला स्थित प्रमुख एवम् प्रतिनिधिको सहभागिता थियो ।
हाल हेटौँडा उपमहानगरपालिका र बागमती गाउँपालिकाको मतगणना जारी रहेको छ।








प्रतिक्रिया राख्नुहोस्