सोलुको नगरपालिका सहित पाँच स्थानीय तहमा कांग्रेस, दुईमा एमाले र एकमा माओवादी केन्द्र विजयी
सोलुखुम्बु । एक नगरपालिका र सात गाउँपालिका रहेको सोलुखुम्बुमा सोलुदूधकुण्ड नगरपालिका सहित पाँच स्थानीय तहमा नेपाली काँग्रेसले प्रमुख र उपप्रमुख जितेको छ ।
सोलुदूधकुण्ड नगरपालिकाको मेयरमा काँग्रेसका नाम्गेलजाङ्बु शेर्पा ५७८ को फराकिलो मतान्तरले विजयी हुनुभएको छ ।
कांग्रेस जिल्ला सभापति समेत रहनुभएका शेर्पाले ४८६८ मत ल्याएर दोस्रो कार्यकालका निर्वाचित हुनु भएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका आङकाजी शेर्पाले ४२९० मत ल्याउनुभएको छ । उपमेयरमा काँग्रेसकै गान्धीमाया तामाङ ४६६७ मतसहित विजयी हुनुभएको छ ।
२०७४ को स्थानीय चुनावमा काँग्रेसले आठ स्थानीय तहमा नगरपालिकाको मेयरमा मात्र शेर्पाले जित्नुभएको थियो । जितपछि शेर्पाले पाँच वर्षमा गरेको कामको मूल्याङ्कन गरी फेरी जिम्मेवारी दिएकाले जनताको प्रतिनिधि बनेर काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।
त्यस्तै, नेचासल्यान गाउँपालिकामा काँग्रेसका धनजन राई २५६९ मतले अध्यक्षमा निर्वाचित हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी डुफकुमार बास्तोलाले २३१३ मत प्राप्त गर्नु भएको छ । उपाध्यक्षमा काँग्रेसकै विना राई निर्वाचित हुनु भएको छ ।
महाकुलुङ गाउँपालिकामा काँग्रेसका सूर्यबहादुर कुलुङ २१०० मत सहित निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका सागर किरातीले १६२६ मत प्राप्त गर्नुभयो । उपाध्यक्षमा काँग्रेसकै बिपना कुलुङ १९२९ मत सहित विजयी हुनुभएको छ ।
लिखुपिके गाउँपालिकामा काँग्रेसकी मिना कार्की बस्नेत १२६० मतले विजयी हुनुभएको छ भने उपाध्यक्षमा ङवाङ ल्हाक्पा शेर्पा १४११ मतले निर्वाचित हुनुभएको छ ।
सोताङ गाउँपालिकामा काँग्रेसका खिलाराज बस्नेतले १६४८ मत ल्याएर विजयी हुँदा उपाध्यक्षमा काँग्रेसकै अन्जु नाछिरिङ विजयी बन्नुभएको छ ।
त्यस्तै, खुम्बु पासाङल्हामु गाउँपालिकाको अध्यक्षमा २०२८ मतले नेकपा एमालेका मिङमाछिरी शेर्पा र उपाध्यक्षमा एमालेकै टासील्हामू शेर्पा विजयी हुनुभएको छ ।
माप्यदूधकोशी गाउँपालिकामा एमालेका बुद्धिकिरण राई ३३४३ मतले निर्वाचित हुनुभएको छ भने उपाध्यक्षमा काँग्रेस माओवादी गठबन्धनका तर्फबाट माओवादी केन्द्रका गौरव राई विजयी हुनुभएको छ ।
थुलुङ दूधकोशी गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका असिम राई ४०४९ मत ल्याएर विजयी हुनुभएको छ भने उपाध्यक्षमा सविता राईले ३८०० मतसहित निर्वाचित हुनुभएको छ ।







प्रतिक्रिया राख्नुहोस्