बागलुङ र जैमुनी नगर प्रमुखमा काँग्रेस र राजमो विजयी
बागलुङ । बागलुङ नगरपालिकाको नगर प्रमुखमा वसन्त कुमार श्रेष्ठ र उपप्रमुखमा राजु खड्का निर्वाचित हुनुभएको छ ।
५ दलीय गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका वसन्त कुमार श्रेष्ठ नेकपा एमालेका जनकराज पौडेललाई पराजित गर्दै विजयी हुनुभएको हो । श्रेष्ठले १२ हजार ८ सय मत प्राप्त गर्दा प्रतिस्पर्धी पौडेलले ६ हजार २ सय ८४ मत प्राप्त गर्नुभयो ।
उपप्रमुखमा गठबन्धनकै तर्फबाट नेकपा माओवादी केन्द्रका राजु खड्काले राष्ट्रिय प्रजातन्त्र पार्टीका सञ्जय खड्कालाई पराजित गर्नुभयो । विजयी खड्काले १० हजार ९ सय ९८ मत प्राप्त गर्दा राप्रपाका खड्काले ६ हजार ६ सय ४५ मत प्राप्त गर्नुभएको निर्वाचन समितिले जनाएको छ ।
त्यस्तै जैमिनी नगरपालिकाको नगर प्रमुखमा नरबहादुर पुन र उपप्रमुखमा हरिहर शर्मा विजयी हुनुभएको छ ।
मतगणनाको नतिजा अनुसार ५ दलीय गठबन्धनका साझा उम्मेदवार राष्ट्रिय जनमोर्चाका पुन र नेपाली काँग्रेसका शर्मा विजयी बन्नुभएको हो ।
नगर प्रमुखमा निर्वाचित पुनले ८ हजार ७ सय ५५ र उप प्रमुखमा निर्वाचित हरिहर शर्माले ९ हजार १ सय ७३ मत प्राप्त गर्नुभएको छ ।
निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार लीला रानाले २ हजार ८ सय ७३ मत प्राप्त गर्नुभएको छ भने उपप्रमुखका उम्मेदवार एमालेका उषा पौडेलले २ हजार ६ सय ३६ मत प्राप्त गर्नुभएको जैमिनी नगरपालिकाका निर्वाचन अधिकृत सूर्यप्रसाद भण्डारीले जानकारी दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्