वालिङ नगरपालिकाको प्रमुखमा एमालेका खाँण र उपप्रमुखमा काँग्रेसका तिवारी विजयी, चापाकोटमा काँग्रेसको जित

स्याङ्जा । स्थानीय तह निर्वाचन, २०७९ मा वालिङ नगरपालिकामा मेयर एमाले र उपमेयर काँग्रेसले जितेको छ । बुधवार सम्पन्न मत परिणाम अनुसार एमालेका उम्मेदवार कृष्ण खाँणले मेयर तथा नेपाली काँग्रेसकी कविता तिवारीले उपमेयर जित्नुभएको हो । खाँणले १३ हजार ७७५ मतसहित मेयर पदमा विजयी हुनुभएको हो । भने उहाँका प्रतिस्पर्धी निवर्तमान मेयर दिलिपप्रताप खाँणले ११ हजार ५९२ मत प्राप्त गर्नुभएको छ ।
त्यस्तै उपप्रमुखमा काँग्रेसकी कविता तिवारी निर्वाचित हुनुभएको छ । तिवारीले १२ हजार ८२२ मतका साथ विजयी हुँदा उहाँका प्रतिस्पर्धी एमालेकी खगिसरा थापामगरले १२ हजार ३४० मत ल्याउनुभएको छ ।
१४ वडा रहेको यहाँका १, २, ५, १०, ११ र १४ मा नेपाली काँग्रेसले जितेको छ भने ३, ४, ६, ७, ८, ९, १२ र १३ मा नेकपा एमालेले जितेको छ । ३९ हजार ६५९ मतदाता रहेको वालिङमा २६ हजार ७७४ जनाले मतदान गरेका थिए । यसअघि २०५४ र २०७४ मा निरन्तर नेपाली काँग्रेसले जित्दै आएको नगरमा यस पटक भने एमालेले जितेको छ ।
त्यस्तै चापाकोट नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका देव बहादुर खाँण (ईश्वर) विजयी हुनुभएको छ । नेपाली काँग्रेसका उम्मेदवार देव बहादुर खाँणले ७ हजार ४९० मत प्राप्त गर्नुभएको छ भने उहाँको प्रतिद्वन्द्वी नेकपा एमालेका तर्फबाट प्रमुख पदका उम्मेदवार बन्नुभएका राजु कोइरालाले ६ हजार ५५५ मत प्राप्त गर्नुभएको छ ।
त्यसैगरी नगरपालिकाको उपप्रमुखमा काँग्रेसकै इशा राना विजयी हुनुभएको छ । उहाँले ७ हजार ४१३ मत प्राप्त गर्दा उहाँको निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी सृष्टि मल्लले ६ हजार ३७६ मत ल्याउनु भएको छ ।
१० वटा वडा रहेको नगरपालिकाको वडाध्यक्ष भने पाँच पाँच वडाहरू एमाले र काँग्रेसले जितेको छ । वडा नं ३, ४, ५, ६ र ८ गरी पाँच वटामा नेपाली काँग्रेस र १, २, ७, ९ र १० गरी पाँच वटा नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवारहरू विजयी हुनुभएको छ । यी दुई नगरपालिकासँगै जिल्लाका ११ वटै मत परिणाम सार्वजनिक भएको छ । यहाँका ११ पालिका मध्ये ५ पालिका अध्यक्ष उपाध्यक्षमा एमाले, एक नगरपालिकामा मेयर जितेको छ भने । ४ नगरपालिका मेयर उपमेयर र एक नगरपालिकामा उपमेयर तथा १ गाउँपालिकामा अध्यक्ष उपाध्यक्ष काँग्रेसले जितेको छ ।








प्रतिक्रिया राख्नुहोस्