तपाईँ सुन्दै हुनुहुन्छः

गृहमन्त्री खाणसँग चिनियाँ राजदूतको शिष्टाचार भेट

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणसँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले शिष्टाचार भेटघाट गर्नुभएको छ । 

आज गृह मन्त्रालयमा भएको भेटमा दुई देशबीचको आपसी सम्बन्ध र सहयोग आदान प्रदानका विषयमा कुराकानी भएको थियो ।

भेटमा राजदूत यान्छीले स्थानीय तह निर्वाचन सम्पन्न गरेकोमा प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई ज्ञापन गर्नुभएको थियो । चिनियाँ राष्ट्रपति सि जीनपीङले आफ्ना जनप्रतिनिधि जनताले आफै छान्ने प्रक्रिया राम्रो भएको भन्दै यो कार्य सम्पन्न गरेकोमा प्रधानमन्त्री देउवालाई बधाई दिनुभएको बताउनुभयो । 

भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनका दिन आफू निर्वाचन भइरहेका विभिन्न स्थानमा अवलोकनका लागि गएको र त्यहाँ जनता उत्साहित भएर निर्वाचनमा भाग लिइरहेको देख्दा खुसी लागेको बताउनुभयो । 

केही समयअघि चिनियाँ विदेश मन्त्री वाङ यी नेपाल भ्रमणमा आएको बेलामा सुरक्षा प्रबन्ध राम्रो गरेकोमा गृहमन्त्रीमार्फत सुरक्षा निकायलाई राजदूत याञ्छीले धन्यवाद दिनुभयो । 

भेटमा गृहमन्त्री खाणले स्थानीय सरकार निर्माण गर्ने कार्य सम्पन्न गरेर सरकार अब बजेट निर्माणको प्रक्रियामा लागेको राजदूत यान्छीलाई बताउनुभयो । 

चीनले शान्ति, स्थिरता, विकास र समृद्धिमा अहिलेसम्म निरन्तर गरेको सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा पनि शान्ति, स्थिरता, विकास र समृद्धिमा सहयोगको निरन्तरताप्रति विश्वास व्यक्त गर्नुभयो । 

भेटमा राजदूत यान्छीले ३० मे बाट काठमाडौँबाट चीनको कुनमिङमा सिधा उडान गर्ने तयारी भएको जानकारी गराउनुभएको थियो । काठमाडौँदेखि कुमनिङ र कुमनिङदेखि काठमाडौँ उडान हुने जानकारी राजदूत यान्छीले गृहमन्त्री खाणलाई गराउनुभएको थियो । 

राजदूत यान्छीले आफ्नो विकासको मोडेल आफै तय गर्ने बताउँदै त्यसमा चीनको सद्भाव रहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button