तपाईँ सुन्दै हुनुहुन्छः

विश्व शान्तिको मार्गतिर अग्रसर हुन अझ प्रेरणा मिल्नेछ : सभामुख


काठमाडौं ।सभामुख अग्निप्रसाद सापकोटाले बुद्धका शिक्षाले मानव समुदायलाई ज्ञान, सत्मार्ग र विश्व शान्तिको मार्गतिर अग्रसर हुन अझ प्रेरणा मिल्ने बताउनुभएको छ । सभामुख सापकोटाले २५६६औँ बुद्ध जयन्तीका अवसरमा सबै नेपालीमा शुभकामना व्यक्त गर्दै नेपाली भूमिमा जन्मिएका बौद्ध दर्शनका प्रवर्तक गौतम बुद्ध मानव जातिका गौरव भएको बताउनुभएको हो ।

उहाँले सन्देशमा भन्नुभएको छ, “विश्वका अर्बौं मानिसले बुद्धका शिक्षालाई अनुुसरण गर्छन् । शान्तिदूतका रूपमा स्वीकारेर विश्व समुदायले बुद्धका दर्शन, ज्ञान र विचारलाई अनुसरण गर्नु नेपालीका लागि असाध्यै गौरवको विषय पनि हो । बुद्ध दर्शन, ज्ञान तथा मार्गदर्शन समस्त मानव जातिकै महत्वपूर्ण उपलब्धि हो ।”

बौद्ध दर्शनले आफैँलाई बुझ्न अभिप्रेरित गर्ने स्पष्ट पार्दै सभामुखले गौतम बुद्धलाई सम्झँदै गर्दा हामीले आफैँलाई बुझ्न कति कोसिस गरिरहेका छौँ भनेर घोत्लनुु आवश्यक रहेको बताउनुभएको छ । संयुक्त राष्ट्र सङ्घले पनि आत्मसात् गरेको बुद्धका सर्वकालिक पञ्चशील सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक रहेको सभामुखले सन्देशमा स्पष्ट पार्नुभएको छ ।

आधुनिकतासँगै दर्शन, सिद्धान्त र विचारको बहसमा कमी आएको अनुभूति भइरहँदा बुद्धका दार्शनिक शिक्षाको महत्व अझ बढेर गएको सभामुखको भनाइ छ । बुद्धको त्याग र ज्ञानको खोजी वर्तमान समाजका लागि अनुकरणीय रहेको उहाँको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button