ललितपुरको महालक्ष्मी नगरमा मतगणना सुरु
ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिकामा मतगणना सुरु भएको छ ।
बिहान ११ बजेबाट गणना सुरु गर्ने भनिए पनि तयारीका काम सकाएर भर्खरै सुरु भएको जनाइएको छ ।
राति भएको सर्वदलीय बैठकले बिहान ११ बजेबाट गणना सुरु गर्ने निर्णय गरे पनि त्योभन्दा झन्डै चार घण्टापछि मात्रै गणना सुरु भएको हो । महालक्ष्मी नगरबाट प्रमुखमा नेकपा (एमाले) बाट हरिगोविन्द श्रेष्ठ, नेकपा (माओवादी केन्द्र) बाट शिव कट्टेल, नेकपा (एकीकृत समाजवादी) बाट नकुल थापाले उम्मेदवारी दिनुभएको थियो ।
उपप्रमुखमा नेपाली काङ्ग्रेसबाट लक्ष्मी महर्जन, एमालेबाट वीना सुवेदी केसीले उम्मेदवारी दिनुभएको हो ।
दुई तहमा गठबन्धन र एकमा एमालेको अग्रता|
ललितपुरका तीन गाउँपालिकामध्ये दुईमा सत्ता गठबन्धन (नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र) का उम्मेदवार र एकमा नेकपा (एमाले) का उम्मेदवारको अग्रता रहेको छ ।
बागमती गाउँपालिका–१ मा ७७९ मत गणना हुँदा प्रमुखमा काँग्रेसका वीरबहादुर लोप्चनले ४१७, एमालेका नवराज सञ्जेलले ३२२ मत र उपप्रमुखमा माओवादीका भक्तकुमार दर्लामीले ४०० र एमालेको नमुना दोङले २७२ मत प्राप्त गर्नुभएको छ ।
कोञ्ज्योसोम गाउँपालिकामा गणना हुँदा एमालेका कृष्णमान लामाको ४४९, माओवादीका गोपीलाल सिङतानको ३७६ मत रहेको छ । उपाध्यक्षमा नेपाली काँग्रेसका राजनप्रसाद घिमिरेको ३०४ र एमालेको रणिता तामाङको पक्षमा २५२ रहेको छ ।
महाङ्काल गाउँपालिकामा ४०० मत गणना हुँदा काँग्रेसका गणेश केसीको २४३, नेकपा एमालेको कमला तामाङको १२१ मत र उपाध्यक्षमा माओवादीको डोल्मा लामाले २३३ र एमालेका पुरुषोत्तम ह्ुमागाइँको १२१ मत ल्याउनुभएको थियो । हाल महाङ्काल गाउँपालिकामा भने मतगणना स्थगित गरिएको छ । रासस







प्रतिक्रिया राख्नुहोस्