तपाईँ सुन्दै हुनुहुन्छः

भक्तपुरमा निर्वाचनको सम्पूर्ण तयारी पुरा

भक्तपुर । भक्तपुरका चार स्थानीय तहमा भोलि हुने स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको छ ।

भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माका अनुसार जिल्लामा ७७ मतदान स्थल र २ सय १९ वटा मतदान केन्द्र तोकिएका छन् । ती सबै मतदान स्थलमा सुरक्षाकर्मी सहितको कर्मचारीको टोली पुगेर मतदान स्थल निर्माणको कार्य सम्पन्न भएको छ ।

मतदान अधिकृतले सर्वदलीय बैठक गर्ने, मतदाता परिचयपत्र वितरण गर्ने लगायतका काम सम्पन्न गरेका छन् ।

निर्वाचनका लागि जिल्लाका ४ वटै स्थानीय तह (सूर्य विनायक, चाँगुनारायण, मध्यपुर थिमि र भक्तपुर नगरपालिका) का मतदान स्थलमा खटिएका मतदान अधिकृतले निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा गराउन तयारी गरेका छन् ।

निर्वाचनका लागि एक हजार पाँच सय सुरक्षाकर्मी र एक हजार कर्मचारी परिचालन गरिएको छ ।

जिल्लाका ३७ मतदान स्थललाई संवेदनशील र बाँकी ४० वटालाई सामान्य रूपमा लिएर तीन तहको सुरक्षा व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी शर्माले बताउनुभयो ।

निर्वाचनमा पुरुष ९२ हजार २ सय ६५, महिला ९७ हजार ३ सय १४, अन्य ५ जना गरी कुल एक लाख ८९ हजार ५ सय ८४ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

मतदानका दिन वर्षा हुन सक्ने सम्भावना भएका कारण खुल्ला ठाउँमा पालको व्यवस्था गरेर निर्वाचनको दिन सहज बनाउन, मतपेटिका, मतपत्र सुरक्षित राख्न आवश्यक सबै प्रक्रिया गर्न निर्देशन दिइएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

यसैबिच जिल्ला निर्वाचन कार्यालय भक्तपुरले मध्यपुर थिमि नगरपालिका अन्तर्गतको कृषि विकास तालिम केन्द्रमा आज नमूना मतदानको आयोजना गरेको निर्वाचन कार्यालय भक्तपुरका प्रमुख नरेन्द्र प्रसाद न्यौपानेले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button