तपाईँ सुन्दै हुनुहुन्छः

धनुषामा निर्वाचनको सम्पूर्ण तयारी पुरा, सुरक्षा व्यवस्था कडा

जनकपुरधाम । भोलि बिहानबाट सुरु हुने स्थानीय तहको मतदानका लागि धनुषामा सबै प्रकारको तयारी पुरा भएको छ ।

धनुषाका सबै मतदान केन्द्रमा मतदानका लागि मतदान केन्द्रको निर्माण गर्ने काम सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिनुभयो । मतदान कार्यमा खटिने कर्मचारीहरू दुई दिन अगाडी नै सम्बन्धित मतदान केन्द्रमा निर्वाचन सामाग्रीहरू सहित पुगिसक्नुभएको छ ।

मतदान अधिकृत सहितका कर्मचारीहरूले निर्वाचन प्रक्रिया अगाडी बढाएर मतदाता परिचयपत्र पनि वितरण गरिसक्नुभएको छ । कतिपय ठाउँमा मतदाता शिक्षा पनि दिने काम भएको छ ।

यसका साथै सुरक्षाका लागि सबै प्रबन्धहरू मिलाइसकिएको धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिनुभयो ।

धनुषाका ३ सय २७ मतदान स्थलमा रहेका ५ सय ९६ मतदान केन्द्रको भित्री सुरक्षा घेरामा नेपाल प्रहरी तथा म्यादी प्रहरी परिचालन गरिएको छ भने बाहिरी सुरक्षा घेरामा सशस्त्र प्रहरी, नेपाली सेना पनि थप बाहिरी घेरामा राखिएको छ । धनुषाका हरेक मतदान केन्द्रमा सुरक्षाको पूर्ण प्रबन्ध मिलाएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिनुभयो ।

ढुक्क भएर मतदान गर्न सुरक्षा निकायले सबै मतदाताहरूमा आग्रह गरेका छन् । धनुषाका नेपाल भारतको सिमानाका अति संवेदनशील मतदान केन्द्रमा विशेष सुरक्षा निगरानी लागि थप सुरक्षा बल केही मिनटमा पुग्ने गरी तयारी अवस्थामा राखिएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button