तपाईँ सुन्दै हुनुहुन्छः

भोलि हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा

काठमाडौँ । निर्वाचन आयोगले भोलि हुने स्थानीय तहको निर्वाचनका लागि सम्पूर्ण तयारी पुरा भएको जनाएको छ ।

आयोगले आज गरेको पत्रकार सम्मेलनमा स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा मतदान गर्ने गरी देशभरिका मतदान केन्द्र र मतदान स्थलहरूमा सम्पूर्ण तयारी पुरा भएको आयोगका सहायक प्रवक्ता सूर्य प्रसाद अर्यालले जानकारी दिनुभयो ।

आयोगले वैशाख २७ गते मध्य राति १२ बजेदेखि सुरु भएको मौन अवधिलाई कडाइपूर्वक अनुगमन जारी राखेको जनाएको छ ।

निर्वाचन आचारसंहिता लागू भएपछि हालसम्म ६६ वटामा स्पष्टीकरण सोधिएको, ९ वटामा सचेत गराइएको र एक वटामा ध्यानाकर्षण गराइएको आयोगका सहायक प्रवक्ता अर्यालले जानकारी दिनुभयो ।

मौन अवधिमा आचारसंहिता विपरीत हुने गरी कार्य गरेको भन्दै निर्वाचन आयोगले विभिन्न राजनीतिक दलका नेतालाई स्पष्टीकरण सोधेको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली काँग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवा, संस्कृति तथा पर्यटन मन्त्री प्रेम आलेलाई पनि निर्वाचन आचारसंहिता विपरीतका कार्य गरेको भन्दै २४ घन्टे स्पष्टीकरण सोधिएको आयोगका सहायक प्रवक्ता अर्यालले बताउनुभयो ।

यसैगरी नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङ र नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटीकी सदस्य गङ्गा दाहाललाई पनि सामाजिक सञ्जालमा आचारसंहिता विपरीत कार्य गरेको भन्दै स्पष्टीकरण सोधेको आयोगले जनाएको छ ।

मतदान गर्ने दिन के गर्न पाइन्छ ?
मतदान हुने दिन भोलि काठमाडौँ उपत्यकामा अति आवश्यक सवारी साधनबाहेक अन्य सवारी साधन सञ्चालनमा रोक लगाइएको आयोगले जनाएको छ ।

आयोगले एम्बुलेन्स, खानेपानी, दूरसञ्चार, स्वास्थ्यकर्मीको आवागमनका लागि प्रयोग हुने साधन, परिचयपत्र प्राप्त चिकित्सकको साधन, तरकारी फलफूल अत्यावश्यक सेवा तथा कूटनीतिक नियोगका सवारी साधन भने सञ्चालन हुने जनाएको छ ।

भोलि हुने मतदानमा मादक पदार्थको सेवन गरेको व्यक्तिलाई मतदान स्थलमा प्रवेश गर्न नदिइने पनि आयोगले जनाएको छ ।

यसैगरी मतदान केन्द्रभित्र मोबाइल फोन, क्यामेरा, प्रज्वलनशील पदार्थ, निर्वाचन चिह्न सङ्केतजन्य वस्तु लैजान पाइने छैन ।

मतदाता नामावलीमा नाम भएका तर परिचयपत्र साथमा नभएका व्यक्तिले नेपाली नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी वा जग्गाधनी पुर्जाको सक्कल प्रतिका आधारमा मतदान गर्न पाउने निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button