मतगणना स्थलमा मापसे चेक गरिने, सिसि क्यामेरा पनि जडान

दैलेख । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । दैलेखका ११ वटै पालिकामा रहेका मतदान स्थल र मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकमीको टोलीले आवश्यक व्यवस्थापन गरिरहेका छन् ।
जिल्लामा ४ जना नगरप्रमुख, ४ जना नगर उपप्रमुख, ७ जना गाउँपालिका अध्यक्ष, ७ जना गाउँपालिका उपाध्यक्ष, ९० जना वडाध्यक्ष र ३ सय ६० जना वडा सदस्य चुन्न वैशाख ३० गते मतदान हुँदैछ । मतदान सकिएपछि हुने मतगणनाका लागि समेत आवश्यक व्यवस्थापनको काम भइरहेका छन् ।
दैलेखमा यसपटक मतगणना स्थलमा मादक पदार्थ सेवन गरे नगरेको परीक्षण गरिने भएको छ । ११ वटै स्थानीय तहमा हुने मतगणना स्थलमा मादक पदार्थ सेवन गरे नगरेको अनिवार्य परीक्षण गरिने जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी भुवनेश्वरप्रसाद साहले बताउनुभयो ।
मतगणना स्थलभित्र छिर्ने प्रहरीदेखि मत गणक, एजेन्ट लगायत सबैलाई मादक पदार्थ सेवन गरे नगरेको परीक्षण गरिने डिएसपी साहले बताउनुभयो । त्यसका लागि मादक पदार्थ सेवन गरे नगरेको जाँच गर्ने उपकरण ‘ब्रेथलाइजर’ ल्याइएको छ । प्रहरीको मोबाइल टोलीले जिल्लाका ११ वटै स्थानमा रहेका मतगणना स्थलमा चेकजाँच गर्ने डिएसपी साहले जानकारी दिनुभयो ।
‘जो सुकै होस् मदिरा सेवन गरे नगरेको जाँचपछि मात्र मतगणना स्थलमा छिर्ने व्यवस्था गरेका छौँ’, डिएसपी साहले भन्नुभयो, ‘परीक्षणमा मदिरा सेवन गरेको पाइएमा जो सुकै होस् प्रवेश निषेध गर्न निर्देशन दिएका छौँ ।’
यसैगरी दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले स्थानीय निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सम्पुर्ण व्यवस्थापन गरिएको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी प्याकुरेलले मतगणना स्थलमा मादक पदार्थ सेवन गरे नगरेको जाँच गर्ने उपकरण ‘ब्रेथलाइजर’को समेत व्यवस्थापन गरिएको र मतगणना स्थलमा सिसी क्यामरा पनि जडान गरिएको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्