शुक्लागण्डकीको नगर प्रमुखमा कडा प्रतिस्पर्धा

तनहुँ । स्थानीय तह निर्वाचनमा तनहुँको शुक्लागण्डकी नगरपालिकामा कडा प्रतिस्पर्धा हुने भएको छ ।
निर्वाचनमा नेकपा एमालेका तर्फबाट नगर प्रमुखको उम्मेदवार मुक्तिनाथ तिमल्सेना हुनुहुन्छ । त्यस्तै नेपाली काँग्रेस र माओवादी गठबन्धनले नगर प्रमुखको उम्मेदवारको रुपमा कृष्णराज पण्डितलाई अघि सोरको छ । उहाँहरुबीच कडा प्रतिस्पर्धा चल्ने अनुमान गरिएको छ ।
कुरामा भन्दा काम बढी रुचाउने शालीन व्यक्तित्व मुक्तिनाथ तिमल्सेनालाई नेकपा एमालेले नगर प्रमुखको उम्मेदवार बनाएको छ । उहाँ राजनीतिसँगै विभिन्न सामाजिक सङ्घ संस्था र व्यावसायिक संस्थामा आबद्ध हुनुहुन्छ भने सामुदायिक बनका जिल्ला अध्यक्षसमेत हुनुभएका तिमिल्सेना नेकपा एमालेका तनहुँ इन्चार्ज हुनुहुन्छ ।
हालसम्म कुनै पनि लाभको पदमा नपुगेका उहाँ जनताको बीचमा जान रुचाउनुका सार्थै जनताको घरदैलोमा पुग्दै कुरा भन्दा काममा तल्लीन हुने बताउँदै आगामी निर्वाचनमा नगरवासीको अत्यधिक मत आउनेमा विश्वस्त हुनुहुन्छ ।
त्यसैगरी शिक्षा, स्वास्थ्य, सडक तथा यातायात, कृषि क्षेत्र, खानेपानी तथा सरसफाई, उद्योगधन्दा, पर्यटन लगायतका विविध क्षेत्रहरूमा गरिने विकासबारे खाका तयार गरेरै अघि बढेको र कृषिमा आधुनिकीकरण र चक्लाबन्दी अवधारणालाई कार्यान्वयनमा ल्याउने, खाद्यान्न फलफूल तथा नगदेबाली उत्पादन वृद्धिका निम्ति प्रत्येक वडामा पकेट एरिया गठन गर्दै कृषकहरूलाई प्रोत्साहन गर्ने प्रतिबद्धता गर्नु भएको छ ।
त्यस्तै नेपाली कांग्रेस र नेकपा माओवादीलगायत पाँच दलीय गठबन्धनका साझा उम्मेदवार कृष्णराज पण्डितले शुक्लागण्डकीको बागडोर सम्हाल्ने अवसर पाएमा शुक्लागण्डकीलाई आधुनिक, सूचना प्रविधिमैत्री र समृद्ध बनाउने तलब भत्ता नलिने प्रतिबद्धता व्यक्त गर्दै आउनु भएको छ ।
सामाजिक एवं व्यावसायिक क्षेत्रमा सक्रिय पण्डितले जनताको घरदैलोलाई पहिलो प्राथमिकतामा राख्दै आधुनिक शुक्लागण्डकीको अवधारणका साथ मतदातासँग मत माग्दै आउनुभएको छ ।
स्थानीय आवश्यकता, उपलब्ध स्रोत र साधनको समुचित सदुपयोग सँगै नगरवासीहरूको आर्थिक समृद्धि, सामाजिक सुधार, पूर्वाधार विकास, सुशासन प्रत्याभूत हुने गरी योजना तयार गरिएको बताउनु भयो । ‘सबल समुन्नत, सुशासन सहितको स्थानीय सरकार, कृषि र पर्यटन मूल आधार’ नारासहित सङ्कल्प पत्र तयार पारिएको बताउनु भयो ।







प्रतिक्रिया राख्नुहोस्