इलामका सबै स्थानीय तहमा निर्वाचनका लागि अन्तिम तयारी
इलाम । जिल्ला निर्वाचन कार्यालय इलामले दश वटै स्थानीय तहमा निर्वाचनका लागि अन्तिम तयारी गरिरहेको छ ।
निर्वाचनका लागि मतदान अधिकृत, कर्मचारी, सुरक्षाकर्मी, तथा मतदान सामाग्री हिजो र आज जिल्लाको दश वटै पालिकामा पठाइएको छ । आगामी २७ जिल्लाको सबै मतदान केन्द्रमा कर्मचारी, सुरक्षाकर्मी तथा मतदान सामाग्री व्यवस्थापन गर्ने गरी तयारी भइरहेको जिल्ला निर्वाचन अधिकारी देविचरण फुयाँलले बताउनुभयो ।

जिल्लामा एक सय ५१ वटा मतदान स्थल र २ सय ८५ वटा मतदान केन्द्र निर्धारण गरिएको छ । इलाममा कुल २ लाख २४ हजार ७ सय ४८ जना मतदाता रहेका छन् । एक लाख १५ हजार पाँच सय ५४ पुरुष र एक लाख नौ हजार एक सय ९२ महिला मतदाताको सङ्ख्या रहेको छ ।
मतगणना स्थलमा सिसी टिभी क्यामेराको पनि व्यवस्थापन गरिएको छ । भोट काउन्टिङ भिडियो म्यानेजमेन्ट सिस्टम जडान गर्ने निर्वाचन आयोगको निर्देशन अनुसार इलाम जिल्लामा पनि प्रबन्ध गरिएको जिल्ला निर्वाचन अधिकारी देविचरण फुयाँलले जानकारी दिनुभयो ।
चार वटा नगरपालिका र छ वटा गाउँपालिकाका सहित ८१ वडामा चुनावी प्रतिस्पर्धा हुँदै छ । जिल्लाको १० वटा पालिकामा कूल २ सय २५ उम्मेदवार निर्वाचित हुने छन् ।








प्रतिक्रिया राख्नुहोस्