तनहुँमा मदिराजन्य पदार्थ बिक्री वितरणमा रोक
तनहुँ । तनहुँमा स्थानीय तह निर्वाचनलाई मध्यनजर गरी मौन अवधिभर मदिराजन्य पदार्थ बिक्री वितरणमा रोक लगाइएको छ ।
यही वैशाख ३० गते हुने स्थानीय निर्वाचन सफल बनाउन जिल्ला प्रशासन कार्यालय तनहुँले मदिराजन्य पदार्थ बिक्री वितरणमा बन्देज लगाएको हो ।

सोमबार प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले सूचना जारी गर्दै निर्वाचनको अन्तिम परिणाम नआउँदासम्म मदिराजन्य पदार्थ विक्री वितरण तथा सेवनमा बन्देज लगाइने जनाउनुभएको छ ।
साथै वैशाख २५ गतेदेखि जेठ ५ गते राति ९ः३० बजेसम्म मात्र होटेल तथा रेस्टुराँ सञ्चालन गर्न पाइने छ ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सकारात्मक र सहयोगी भूमिका निर्वाह गर्ने प्रतिबद्धता जिल्लास्थित राजनीतिक दलका प्रतिनिधिले जनाएका छन् ।
मतदानको दिन अत्यावश्यक बाहेकका सवारी साधन चलाउन नपाइने
यस्तै, मतदानको दिन अत्यावश्यक बाहेकका सवारी साधन बन्द रहने जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ ।
मतदानको दिन बिहान ६ बजेदेखि मतदान कार्य सम्पन्न नभएसम्म शव वाहन, एम्बुलेन्स, दमकल, अस्पताल, विद्युत्, खानेपानी, दूरसञ्चार जस्ता अत्यावश्यक सेवा र अनुमति लिएका सवारी साधनहरू बाहेक अन्य सम्पूर्ण यातायातका साधन (सार्वजनिक, निजी) बन्द हुने जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ ।
सूचना विपरीत सवारी साधन सञ्चालन भए प्रचलित कानुन बमोजिम कारबाही गरिने प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले जानकारी दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्