तपाईँ सुन्दै हुनुहुन्छः

धनुषामा मदिराको बिक्री वितरणमा रोक, ७२ घण्टा सीमा नाका बन्द हुने

जनकपुरधाम । निर्वाचनलाई मध्यनजर गर्दै धनुषामा स्थानीय प्रशासनले मङ्गलवारदेखि मदिराजन्य पदार्थको बिक्री वितरणमा रोक लगाएको छ । 

धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले मङ्गलवार रातिदेखि मदिराको बिक्री वितरण रोक लगाउनुको साथै र नेपाल भारतको सीमा नाका बन्द गर्ने निर्णय भएको जानकारी दिनुभयो । 

स्थानीय तहको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न जिल्ला प्रशासन कार्यालय धनुषाले सार्वजनिक सूचना जारी गर्दै मङ्गलवार राति १२ः०० बजेदेखि मतदानको कार्य सम्पन्न नभएसम्मका लागि धनुषा जिल्लाभरि सबै प्रकारका मादक पदार्थ (मदिरा) को विक्री वितरण र सेवन कार्य निषेध गरेको जनाएको छ ।

यसका साथै भोलि राति १२ः०० बजेदेखि शुक्रवारसम्म नेपाल भारतको सीमा नाका बन्द गर्ने निर्णय गरेको छ । यसअघि नै नेपाल भारतको सीमा बैठकबाट ७२ घण्टासम्म नेपाल भारतको सीमा नाका बन्द गर्ने निर्णय गरेको थियो । 

शुक्रवार हुने स्थानीय तह निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न शान्ति सुरक्षालाई दृष्टिगत गर्दै स्थानीय प्रशासन ऐन, २०२८ तथा स्थानीय तह निर्वाचन निर्देशिका, २०७९ का विभिन्न व्यवस्थाअनुसार यस्तो आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिनुभयो ।   

मङ्गलवार राति १२ः०० बजेदेखि ३० गतेका दिन मतदान कार्य सम्पन्न नहुञ्जेलसम्म एम्बुलेन्स, खानेपानी ट्याङ्कर, दमकल, दूरसञ्चार सेवा/शव बाहान, अस्पताल सेवा तथा विद्युत् सेवा जस्ता अत्यावश्यक सेवा र नम्बर प्लेटमा सिडी उल्लेख भएको कूटनीतिक नियोगको सावरी साधन र अनुमति प्राप्त सवारी साधन बाहेकका सावरी साधन सञ्चालनमा निषेध गरिएको उहाँले जानकारी दिनुभयो । 

सो आदेशको उल्लङ्घन गर्नेलाई कानुन बमोजिम कारबाही गर्ने प्रमुख जिल्ला अधिकारी पौडेलले जारी गर्नुभएको सूचनामा उल्लेख गरिएको छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button