तपाईँ सुन्दै हुनुहुन्छः

तीन वर्षदेखि बेपत्ता आफन्तको पर्खाइमा परिवार 

सल्यान । रोजगारीका लागि डोल्पा गएका सल्यानका ४६ वर्षीय शुकलाल यरी तीन वर्षदेखि बेपत्ता हुनुभएको छ । 

डोल्पाको दुनैमा घर प्लास्टरको कामको लागि भनेर घरबाट हिँड्नुभएका जिल्लाको शारदा नगरपालिका ६ सापमाराका यरी तीन वर्षदेखि सम्पर्क विहीन हुनुभएको हो । 

डोल्पाको दुनैमा पुगेर काम सुरु गरिसकेको भनेर घरमा खबर गरेका यरी २०७६ भदौदेखि परिवार र आफन्तको सम्पर्कमा नआएको यरीकी छोरी रेखा यरीले बताउनुभयो । तीन वर्षदेखि सम्पर्कमा नआएपछि बुवाको खोजतलास गरी दिन उहाँले सबैमा आग्रह गर्नुभएको छ ।  

यरीलाई डोल्पा लग्ने गाउँकै ठेकेदार भागिराम बुढाथोकीले आफूले यरीलाई रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको राडिज्युलाका ठेकेदार अर्जुन विकको जिम्मा दिएर घर फर्किएको परिवारलाई बताउनुभएको छ ।
 उता राडिज्युलाका ठेकेदार विकले भने यरी दुनैको काम सकाएर घर जाने भनेर हिँडिसकेको बताउनुभयो । तर विगत तीन वर्षदेखि बुवा घरमा पनि नआएको र सम्पर्कमा पनि नभएको छोरी रेखाले बताउनुभयो । उहाँले भन्नुभयो “बुवाको अवस्थाका बारेमा हामी अनभिज्ञ छौँ, ठेकदारले घर फर्किसक्नुभएको हो भन्छ, तर बुवा घर आउनुभएको छैन, कुर्दाकुर्दै तीन बर्ष बित्न लागिसक्यो ।”

तीन वर्षदेखि सम्पर्क विहीन बुवाको खोजतलासका लागि दुई पटक जिल्ला प्रहरी कार्यालय सल्यानमा निवेदन दिएको भए पनि प्रहरीले समेत बेवास्ता गरेको रेखाको भनाइ छ ।

“बुवाको अवस्थाका बारेमा बुझ्न सजिलो होला भनेर दुई पटक प्रहरीमा निवेदन समेत दिए, तर जिल्ला बाहिरको घटना भन्दै प्रहरीले वास्ता नै गरेन”, उहाँले भन्नुभयो, “बुवालाई कामको लागि घरबाट लिएका बुढाथोकी र राडीज्युलाका ठेकेदार बिक दुवैमाथि प्रहरीले छानबिन गर्‍यो भने वास्तविकता पत्ता लाग्न सक्छ, तर हामीसँग पैसा छैन हाम्रो पक्षमा बोलिदिने पनि कोही छैन ।”

घरको मुली बुवा नै सम्पर्क विहीन भएपछि घर चलाउन निकै समस्या भएको रेखाको भनाइ छ । अहिले आमा, भाइ र रेखासँगै बस्दै आएका छन् ।

जिल्ला प्रहरी कार्यालय सल्यानले भने यस विषयमा परिवारको निवेदनका आधारमा मातहतका सबै निकायहरूलाई खबर गरिसकेको जनाएको छ ।

यरीलाइ काममा लगाउने भनेर घरबाट दुनै लगेका दुवै ठेकेदारलाई बोलाएर यस बारेमा थप छलफल गरिने प्रहरीको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button