तपाईँ सुन्दै हुनुहुन्छः

‘समयमै सूचना प्राप्त गरे मात्रै तत्काल रणनीति बनाउन सकिन्छ’

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले सत्य तथ्य सूचना समयमै प्राप्त गरे मात्रै अकल्पनीय घटना घट्न नदिन र घटना घटिहालेमा पनि समस्या समाधानका लागि तत्काल रणनीति बनाउन सकिने बताउनुभएको छ ।

आइतबार राष्ट्रिय अनुसन्धान विभागको निरीक्षणपछि गृहमन्त्री खाणले सत्य तथ्य सूचना जतिसक्दो छिटो सरकारसम्म पुर्‍याउन राष्ट्रिय अनुसन्धान विभाग प्रविधियुक्त, सक्षम र सबल हुनुपर्ने बताउनुभयो ।

नेपालमा राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक लगायतका घटनाक्रम र त्यसले पार्न सक्ने प्रभावबारे विश्लेषण सहितको सूचना बेलैमा पाएमा मात्रै त्यसलाई रोक्न सरकारले रणनीति बनाउन सक्ने उहाँको भनाइ थियो । अनुसन्धान विभागले राष्ट्रिय, अन्तर्राष्ट्रिय सूचना र त्यसले पार्ने प्रभावको विश्लेषण सरकारलाई अहिलेसम्म उपलब्ध गराउँदै आएको र आगामी दिनमा अझ बढी प्रभावकारी सूचना र विश्लेषण सरकारलाई दिने विश्वासमा सरकार रहेको बताउनुभयो ।

अनुसन्धान विभाग कमजोर भए राज्यको सूचना प्रणाली कमजोर हुने र सूचना प्रणाली कमजोर भए समग्र राज्य प्रणाली कमजोर हुने गृहमन्त्री खाणले बताउनुभयो ।

लोकतान्त्रिक शासन व्यवस्थामा आवधिक रूपमा सरकार परिवर्तन हुन स्वाभाविक भए पनि सरकार परिवर्तनले विभागलाई असर पार्न नहुने गृहमन्त्री खाणले बताउनुभयो ।

मुलुक स्थानीय तह निर्वाचनको पूर्व सन्ध्यामा रहेको बताउँदै गृहमन्त्री खाणले निर्वाचनलाई स–साना घटनाले प्रभाव पार्ने बताउनुभयो ।

गृह सचिव टेकनारायण पाण्डेले पछिल्लो समय प्रविधिको विकाससँगै सुरक्षा चुनौती बढेको भन्दै त्यो चुनौतीलाई तत्काल समाधान गर्न सत्य तथ्य सूचना बेलैमा आइपुग्न आवश्यक रहेको बताउनुभयो । उहाँले राष्ट्रिय अनुसन्धान विभागलाई प्रविधिको प्रयोग गरी सबै स्थानका सूचना एकै स्थानमा बसेर सङ्कलन गर्ने संयन्त्रको विकास गर्नतर्फ लाग्न आग्रह गर्नुभयो । अनुसन्धान विभागले उपलब्ध गराउने सूचना अझ परिष्कृत गर्न आवश्यक रहेको उहाँको भनाइ थियो ।

गृहमन्त्री खाण र गृह सचिव पाण्डेसहितको टोलीलाई विभागका मुख्य अनुसन्धान अधिकृत यदुलाल खरेलले विभागको वर्तमान अवस्था र इतिहास, विभागका जिम्मेवारी, अहिलेका सुरक्षा चुनौती र सरकारले गर्नुपर्ने कामबारे अवगत गराउनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button