निर्वाचन अवधिभर सप्तरीमा मादक पदार्थ बिक्री वितरण गर्न नपाइने
सप्तरी । सप्तरीमा निर्वाचन अवधिभर मादक पदार्थ बिक्री वितरण तथा सेवन गर्न नपाइने भएको छ ।
जिल्ला प्रशासन कार्यालयले निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्नका लागि मादक पदार्थ बिक्री वितरण तथा सेवनमा रोक लगाइएको जनाएको हो ।

प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमका अनुसार यही वैशाख २७ गते राति १२ बजेदेखि मतगणनाको अन्तिम परिणाम घोषणा नभएसम्म मादक पदार्थको बिक्री वितरण तथा सेवन गर्न पाइने छैन ।
त्यसैगरी निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्नका लागि भारतसँग सीमा जोडिएका सप्तरीका सम्पूर्ण सीमा नाका वैशाख २७ गते रातको १२ बजेदेखि २०७९ वैशाख ३० गते रातको १२ बजेसम्म बन्द रहने सूचनामा उल्लेख गरिएको छ ।
प्रशासनले ३० गते मतदान कार्य हुने हुँदा उक्त दिन बिहान ५ बजेदेखि साँझ ६ बजेसम्म एम्बुलेन्स, दमकल, दूरसञ्चार सेवा, शव वाहन, अस्पताल सेवा, विद्युत् सेवा जस्ता अत्यावश्यक सेवाका सवारी साधन र अनुमति लिएका सवारी साधनबाहेक अन्य सम्पूर्ण यातायातका साधन (सार्वजनिक र निजी) बन्द हुने जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्