‘प्रेस जगत राज्य र जनताको बिचको सञ्चार सेतु’
काठमाडौँ । सरकारले २०७८ सालको वरिष्ठ पत्रकार सम्मानबाट पत्रकार द्वय किशोर नेपाल र तारानाथ दाहाललाई पुरस्कृत गरेको छ ।
सातौँ राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले पत्रकार द्वय नेपाल र दाहाललाई जनही २ लाख रुपैयाँ नगद, दोसल्ला र प्रमाणपत्रद्वारा सम्मान गर्नुभयो ।
कार्यक्रममा जनही १ लाख नगद राशिसहित दोसल्ला र प्रमाणपत्रद्वारा ६ जना पत्रकारलाई २०७८ सालको राष्ट्रिय पत्रकारिता पुरस्कारद्वारा पुरस्कृत गरिएको छ । पुरस्कृत हुनेमा डिआर पन्त, इकवाल अहमत, गङ्गा बराल, ठाकुरप्रसाद वेल्वासे, बालकुमार नेपाल र सम्झना बन हुनुहुन्छ ।
पुरस्कार वितरण गर्नुहुँदै राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली प्रेस जगतले राज्य र जनताको बिचमा सञ्चार सेतुका रुपमा काम गरिरहेको बताउनुभयो ।

राष्ट्रपति भण्डारीले विपत्, महामारी र राजनीतिक परिवर्तनमा नेपाली प्रेसले खेलेको भूमिका महत्पूर्ण रहेको भन्नुहुँदै मुलुकको हित, राष्ट्रिय स्वाभिमानको रक्षा र लोकतन्त्रको सुदृढीकरण गर्नु प्रेस जगतको मुख्य अभीष्ट हुनुपर्नेमा जोड दिनुभयो ।
राष्ट्रपति भण्डारीले जनताले छानेका प्रतिनिधिबाट विधिको शासन सञ्चालन हुनु नै लोकतन्त्रको मुख्य आधार भएकाले आसन्न स्थानीय तहको निर्वाचनलाई स्वतन्त्र र भयरहित बनाउन नेपाली प्रेस जगतले निष्पक्ष सूचना सम्प्रेषण गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको सुशासन र समृद्धिका लागि नेपाली प्रेस जगतले खेलको भूमिकाको प्रशंसा गर्नुहुँदै सरकारलाई कानुनी शासन र सुशासनको बाटोमा हिँड्नका निम्ति पहरेदारको रुपमा काम गर्न प्रेस जगतलाई आग्रह गर्नुभयो ।

मन्त्री कार्कीले वर्तमान सरकारले संविधान प्रदत्त अधिकारको रक्षा र प्रोत्साहन गर्ने गरेको भन्नुहुँदै समाजलाई सुसूचित गर्न नेपाली प्रेस जगतले निर्भीकताका साथ कलम चलाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा वरिष्ठ पत्रकार तारानाथ दाहालले सङ्घीयताको मर्म र भावना अनुरूप अभिव्यक्ति स्वतन्त्रता र पत्रकारिताका लागि आवश्यक ऐन, नियम, कानुन र कार्यविधि यथाशीघ्र निमार्ण गरी कार्यान्वयनमा लैजानुपर्ने बताउनुभयो ।
कार्यक्रममा कोरोना महामारीका कारण स्थगित भएका २०७६ साल र २०७७ सालमा वरिष्ठ पत्रकार सम्मानबाट सम्मानित र राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुनुहुने पत्रकारहरूलाई पनि दोसल्ला र प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो ।







प्रतिक्रिया राख्नुहोस्