तपाईँ सुन्दै हुनुहुन्छः

‘सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा प्रतिबद्ध छ’

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित हुन नदिन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

File photo

काठमाडौँमा आज आयोजित गोरखापत्र प्रकाशनको १२२ औँ वर्ष प्रवेश तथा संस्थानको ६० औँ वार्षिक उत्सव समारोहमा मन्त्री कार्कीले संविधानले परिकल्पना गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई उत्कृष्ट र मर्यादित बनाउने पक्षमा सरकार निष्ठापूर्वक उभिने बताउनुभयो ।

सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री कार्कीले गोरखापत्र देशको विभिन्न परिस्थिति र कालखण्डको साक्षी रहेको बताउनुहुँदै समय अनुकूल गतिशील हुन तथा प्रतिस्पर्धात्मक बन्न आवश्यक रहेकोमा जोड दिनुभयो ।

समारोहमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा.वैकुण्ठ अर्यालले गौरवशाली इतिहास बोकेको गोरखापत्र प्रकाशन आम नागरिकको भाषा, संस्कृति र साहित्य क्षेत्रको पाठशाला रहेको बताउनुभयो ।

file photo

यस्तै, गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले गोरखापत्र प्रकाशनको प्रतिस्पर्धात्मक साथै प्रभावकारी उपस्थितिका लागि प्रविधिमैत्री, स्मार्ट यात्राको सुरुवात गरेको बताउनुभयो ।

वि.स १९५८ सालेदेखि प्रकाशन सुरु भएको गोरखापत्रले हाल ३८ भाषामा सूचना तथा समाचारमूलक सामग्री प्रकाशन गर्दै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button