तपाईँ सुन्दै हुनुहुन्छः

नवौँ राष्ट्रिय खेलकुदको ‘लोगो’ र ‘मस्कट’ सार्वजनिक

काठमाडौँ । नवौँ राष्ट्रिय खेलकुद–२०७९ को ‘लोगो’ र ‘मस्कट’ सार्वजनिक गरिएको छ । 

राष्ट्रिय खेलकुद परिषद्ले आज आयोजना गरेको कार्यक्रममा खेलकुद मन्त्री महेश्वर गहतराज, राखेपका सदस्यसचिव टङ्कलाल घिसिङले लोगो र मस्कट सार्वजनिक गर्नुभयो । 

प्रतिस्पर्धाबाट भोलानाथ पौडेलले डिजाइन गर्नुभएको लोगो र मस्कट छनोट भएको हो । लोगोमा गण्डकी प्रदेशको राजधानी पोखरा र माछापुच्छ्रेलाई रेखाकृतिमा देखाइएको छ । त्यसतल आकाशे निलो रेखाले शान्तिको प्रतीक परेवालाई प्रतिविम्बत गरेको छ । रातो रङको चार धर्साले परेवाको खुट्टा दर्साइएको छ । 

चार धर्साले खेल मैदानको ट्रेकका साथै गण्डकी प्रदेशको साबिकको ४ नं प्रदेशलाई दर्साएको छ । ट्रेकमा रहेको चन्द्र सूर्यले राष्ट्रिय ध्वजालाई प्रतिबिम्बित गर्नुका साथै सहभागी सबै टोलीको प्रतिनिधित्व गर्ने युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ । 

यस आकृतिको तलका दुई हरफले राष्ट्रिय खेलकुदको संस्करण र साल एवं उक्त प्रतियोगिता हुने स्थान अनि प्रदेशलाई बुझाएको छ । नवौँ खेलकुदको ‘मस्कट’ मा गण्डकी प्रदेशमा पनि पाइने लोपोन्मुख तथा संरक्षित प्रणाली कस्तुरी मृगको आकृति समावेश गरिएको छ । 

कोरोना महामारीका कारण रोकिएको नवौँ राष्ट्रिय खेलकुद आगामी जेठ २२ देखि २८ गतेसम्म गण्डकी प्रदेशको राजधानी पोखरामा हुँदै छ । 

गत चैत ३० गतेको मन्त्रिपरिषद् बैठकले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशको पोखरामा आयोजना गर्ने निर्णय गरेको थियो । 

प्रत्येक दुई वर्षमा आयोजना हुनुपर्ने राष्ट्रिय खेलकुदको नवौँ संस्करण २०७७ मा आयोजना गर्नुपर्ने थियो । विश्वव्यापी रुपमा फैलिएको कोभिड सङ्क्रमणका कारण खेलकुद स्थगित भएको थियो । 

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी जेठमा आयोजना गर्न खेलकुद मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव लगेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button