तपाईँ सुन्दै हुनुहुन्छः

गठबन्धन राष्ट्रिय आवश्यकता हो : प्रधानमन्त्री देउवा

तनहुँ । नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन राष्ट्रिय आवश्यकता भएको बताउनुभएको छ । 

तनहुँको दमौलीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री देउवाले गठबन्धनको विरुद्धमा रहेका तत्त्वहरूलाई स्थानीय तहको मैदानबाटै जवाफ दिनुपर्ने बताउनुभयो । 

“गठबन्धन सफल पारेर छोड्नुपर्छ, हामी सफल बनाउँछौँ ।”, उहाँले अगाडी भन्नुभयो, “स्थानीय तह होइन स्थानीय सरकार हो, यहाँ मात्रै होइन प्रदेश र केन्द्र पनि छ । त्यसैले गठबन्धन सफल पारेरै छोड्नुपर्ने राष्ट्रिय आवश्यकता हो ।”

“यो आजको ऐतिहासिक राष्ट्रिय आवश्यकता हो ।” उहाँले भन्नुभयो “गठबन्धन असफल पार्न लागि परेका स्वदेशी, विदेशी जुनसुकै तत्त्व भए पनि गठबन्धन सफल पार्ने नेपाली काँग्रेसको एउटा मात्रै उद्देश्य रहेको छ ।”

“प्रजातन्त्रलाई स्थायी बनाउन नेपाली काँग्रेसले कुनै पनि हालतमा गठबन्धन सफल बनाउन लागिपर्छ ।” प्रधानमन्त्री देउवाले भन्नुभयो । 

उहाँले तनहुँ रामचन्द्र पौडेलको जिल्ला भएकाले काँग्रेस र गठबन्धनका उम्मेदवारलाई अत्यधिक बहुमतले जिताउनुहुन्छ भन्ने आशा समेत व्यक्त गर्नुभयो । 

प्रधानमन्त्रीले गठबन्धनलाई सफल बनाउँदै गठबन्धनको खिलाफमा लाग्ने तत्त्वलाई कडा जवाफ दिन अनुरोध समेत गर्नुभयो ।  

चुनावी सभामा नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, काँग्रेसका प्रवक्ता प्रकाश शरण महत, केन्द्रीय सदस्य शङ्कर भण्डारी लगायतले बोल्नुभएको थियो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button