तपाईँ सुन्दै हुनुहुन्छः

आपसी समन्वय र समझदारीका आधारमा अगाडि बढ्ने गठबन्धनको निर्णय

काठमाडौँ । गठबन्धनमा सामेल राजनीतिक दलका सचिवालय पदाधिकारी एवं सदस्यको बैठकले गठबन्धनमा रहेका सबै राजनीतिक दलबीच आपसी समन्वय र समझदारीका आधारमा अगाडि बढ्ने निर्णय गरेको छ ।

कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति सचिवालयका संयोजक नानु बाँस्तोलाको अध्यक्षतामा कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आज बसेको गठबन्धनमा सामेल राजनीतिक दलका सचिवालय पदाधिकारी एवं सदस्यको बैठकले बैठकले स्थानीय तहको निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, र भयरहित ढङ्गले सम्पन्न गर्न समझदारी गरेर अगाडि बढाउन प्रतिबद्ध रहने निर्णय गरेको हो ।

बैठकले गठबन्धनमा रहेका दलबीच आपसी समझदारीमा दिएका उम्मेदवारविरुद्ध गठबन्धन भित्रका दलबाट दर्ता भएका उम्मेदवारी तत्काल निष्क्रिय गराउन आवश्यक पहल गर्न सम्बन्धित दलले नेतृत्वसमक्ष आग्रह गर्ने र यस्ता उम्मेदवारका बारेमा हरेक दलले एक अर्कालाई जानकारी गराउने निर्णय समेत गरेको छ ।

यसैगरी, बैठकले स्थानीय तह निर्वाचनका क्रममा विभिन्न पालिकामा गठबन्धनका दलबीच असमझदारी सिर्जना भएमा आपसी समन्वयमा समस्यालाई तत्काल समाधान गर्न सचिवालय क्रियाशील रहने निर्णय गरेको छ ।

बैठकले स्थानीय तह निर्वाचनका क्रममा विभिन्न पालिकामा गठबन्धन दलबाहेक अन्य राजनीतिक दलसँग असहमति वा असमझदारी उत्पन्न भएको परिस्थितिमा गठबन्धनमा रहेका दलबीच मतैक्यता कायम गरी समस्या समाधान गर्न सचिवालय क्रियाशील रहने निर्णय गरेको छ ।

बैठकमा काँग्रेसबाट बाँस्तोलासँगै नेकपा (माओवादी केन्द्र)बाट डोरप्रसाद उपाध्याय, नेकपा (एकीकृत समाजवादी)बाट लक्ष्मण केसी, जनता समाजवादी पार्टीबाट लालबहादुर तामाङ र राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button