नेपाल पाहुना टोली जिम्बावे ‘ए’ सँग पराजित
काठमाडौँ । पहिलो एक दिवसीय खेलमा नेपाल पाहुना टोली जिम्बावे ‘ए’ सँग पराजित भएको छ ।
टियु क्रिकेट मैदानमा शुक्रवार नेपाल जिम्बावेसँग ३ विकेटले पराजित भएको हो । नेपालले दिएको १ सय ३७ रनको लक्ष्य जिम्बावेले २६ ओभरमा ७ विकेट गुमाएर १ सय ३७ रन बनायो ।

जिम्बावेका लागि इनोसेन्ट कियाले अविजित रहँदै ४८ रन बनाए । ब्राड इभान्स १७ रन अविजित रहे । यस्तै सेफास झुवाले ३२ रन जोड्दा रोय कियाले १४ रन बनाए ।
नेपालका सन्दीप लामिछाने र करण केसीले २/२ विकेट लिए । सोमपाल कामी र सागर ढकालले १/१ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको नेपाल ३१ ओभर ३ बलमा अलआउट हुँदै १ सय ३६ रनमा समेटिएको थियो ।
नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३० रन बनाए । करण केसीले २५ रन जोड्दा कुशल भुर्तेलले १९ रन बनाए । दीपेन्द्र सिंह ऐरी १८ रन आउट भए । आरिफ शेख र आसिफ शेख समान ५ रन आउट हुँदा रोहित पौडेल ३ तथा कप्तान सन्दीप लामिछाने ४ रनमा आउट भए ।
मोहम्मद आदील आलमले ३ रन जोड्दा सुशन भारी शून्य रन आउट भए । सागर ढकाल १ रनमा अविजित रहे । जिम्बावेका ब्राड इभान्सले ४ विकेट लिए । भिक्टर, ब्राण्डन माभुता र सेफासले २/२ विकेट लिए । जितसँगै जिम्बावेले तीन खेलको सिरिज १–० को अग्रता बनाएको छ । दोस्रो एक दिवसीय खेल शनिबार हुनेछ ।
आइसिसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एक दिवसीय सिरिजको तयारीमा स्वरूप नेपालले जिम्बावे ‘ए’ सँग सिरिज खेलिरहेको हो । यस अघि भएको तीन खेलको टी–ट्वान्टी सिरिज १/१ को बराबरीमा सकिएको थियो ।








प्रतिक्रिया राख्नुहोस्