मतदाताका घरदैलोमा उम्मेदवार
वीरगञ्ज । विभिन्न राजनीति दलका उम्मेदवारले मतदाता रिझाउन घरदैलो गर्ने कामलाई तीव्रता दिइरहेका छन् ।
पर्सा जिल्लामा मधेस प्रदेशको एक मात्र महानगरपालिका वीरगञ्ज सहित तीन नगरपालिका र ११ गाउँपालिकाका छन् । ती दल तथा स्वतन्त्र उम्मेदवार आ–आफ्नो पार्टीको घोषणापत्रसहित स्थानीय स्तरका विकास निर्माणका एजेन्डा राखेर प्रतिबद्धतासहित मतदाताको घरदैलोमा पुग्न व्यस्त देखिन्छन् ।
फरक फरक शैलीमा फरक फरक राजनीतिक दलका वा स्वतन्त्र रुपमा उम्मेदवार दिएका सबैजसो उम्मेदवार सकेसम्म सबै मतदाताको घरदैलोमा पुग्ने गरी उम्मेदवारले बिहानदेखि रातिसम्मै प्रचारप्रसारमा लागेका छन् ।
पालिकावासीको समृद्धिका लागि खटिने प्रण गर्दै उम्मेदवारले आवश्यकताअनुसार पालिकाको विकास निर्माणलगायतका चौतर्फी विकास गर्ने एजेन्डा मतदाताका माझ उम्मेदवारले प्रस्तुत गर्दै आएका छन् ।
मतदाता पनि यस पटक उम्मेदवारले चुनावी एजेन्डा वा प्रतिबद्धता सार्वजनिक गरे पनि अधिकांश उम्मेदवार निर्वाचन जितेपछि यस अगावै निर्वाचनमा विजयी भएको उम्मेदवारले यसबारे शतप्रतिशत कार्यान्वयनमा जोड नदिएको आरोप लगाउँदै आएका छन् ।
यसरी प्रत्याशीले प्रतिबद्धता व्यक्त गरेर मतदातालाई आ–आफ्नो पक्षमा रिझाउने कसरत तीव्र बनाइरहँदा कतिपय मतदाताले भने महत्त्वाकाङ्क्षी र ठुला आश्वासन बाँड्न थालिएको भन्दै टिप्पणी गर्न थालेका छन् ।
वीरगञ्ज महानगरपालिकाबाहेक अन्य सबैजसो पालिकामा राजनीतिक दलहरुबीच चुनावी तालमेल देखिएको छैन । महानगरपालिका नेतृत्वका लागि गठबन्धन बनाउँदा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)का बीच तालमेल भएको छ भने नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच चुनावी तालमेल भएको छ । महानगरपालिकाबाहेकका अन्य पालिकामा राजनीतिक दलहरू बीच खासै तालमेल भएको छैन ।
जिल्लामा १६७ मतदान स्थल र ४०४ मतदान केन्द्र निर्धारण गरिएको छ । जिल्लामा तीन लाख ३९ हजार ८३६ मतदाता रहेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । ती मध्ये पुरुष मतदाता एक लाख ९१ हजार ५३७ र महिला मतदाता एक लाख ४८ हजार २८३ र अन्य मतदाता १६ छन् ।रासस








प्रतिक्रिया राख्नुहोस्