आचारसंहिता विपरीत भारतीय सवारीसाधन प्रचारप्रसारमा प्रयोग

जनकपुरधाम । निर्वाचन आचारसंहिता विपरीत धनुषा जिल्लामा भारतीय नम्बर प्लेटको सवारी साधनहरू प्रचार प्रसारमा प्रयोग भइरहेका छन् ।
जनकपुरधाम उपमहानगरपालिकाको विभिन्न पदका उम्मेदवारहरूले प्रचारप्रसारको क्रममा भारतीय नम्बर प्लेटको गाडी तथा डिजे एवं हर्नको प्रयोग गरिरहेका कारणले आचारसंहिताको उल्लङ्घनका साथै मतदाता आतङ्कित बनेको छ ।
विभिन्न राजनीतिक दलले प्रयोग गरेको भारतीय नम्बर प्लेटको सवारी साधन प्रयोग गरेको विषयमा आफूहरूको नोटिसमा आएको र सवारी साधन नियन्त्रणमा लिनका लागि स्थानीय प्रहरी प्रशासनलाई आदेश दिइसकेको धनुषाका मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिनु भयो । यसका साथै डिजे तथा हर्नको नियन्त्रणका लागि पनि पहल गर्ने बताउनु भयो ।

उता धनुषा प्रहरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक प्रदीप बहादुर क्षेत्रीले भारतीय नम्बर प्लेटको सवारी साधन नियन्त्रणको काम शुरु गरेको बताउँदै अहिलेसम्म जनकपुरधामको कपिलेश्वर तथा देवपुरामा गरेर तीन वटा सवारी साधनलाई नियन्त्रणमा लिएर चालकहरूलाई सम्झाई बुझाई छाडेको बताउनु भयो ।
चर्को स्वरमा डिजे तथा हर्नबाट प्रचार प्रसार गर्ने काम भएका कारणले सर्वसाधारणमा मानसिक तनाव सृजना भएर हृदयाघातको सम्भावना रहेको चिकित्सकहरूले जानकारी दिनु भएको छ ।








प्रतिक्रिया राख्नुहोस्