गठबन्धन राष्ट्रिय आवश्यकता: प्रधानमन्त्री देउवा
विराटनगर । प्रधानमन्त्री शेरबहादुर देउवाले दलहरूबिचको गठबन्धन राष्ट्रिय आवश्यकता भएको बताउनुभएको छ ।
नेपाली कांग्रेस मोरङले विराटनगरमा आज आयोजना गरेको आमसभामा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री देउवाले राष्ट्रिय आवश्यकता अनुसार पाँच दलीय गठबन्धन बनेको प्रस्ट पार्नुभयो ।

उहाँले प्रजातन्त्र र लोकतन्त्रलाई बलियो बनाउन स्थानीय तहको निर्वाचनमा गठबन्धन भएको भन्नुहुँदै उहाँले गठबन्धन दलहरूबिच कुनै प्रकारको शङ्का/उपशङ्का हुन नहुने बताउनुभयो । उहाँले नेपाली काँग्रेसले कुनै पनि हालतमा कसैलाई धोका नदिने बताउनुभयो ।
नेपाली काँग्रेसका सभापति समेत रहनुभएका प्रधानमन्त्री देउवाले काँग्रेससँग बहुमत नरहेकाले आफूहरू गठबन्धनमा जानुपरेको बताउनुभयो । गठबन्धनका विषयमा कतिपय साथीहरूलाई चित्त नबुझे पनि स्थानीय तहको निर्वाचनमा गठबन्धनको उपयोग गर्न उहाँले आग्रह गर्नुभयो ।
उहाँले विराटनगरमा रहेको विराट राजाको दरबारको उत्खननदेखि समग्र विराटनगरको विकासमा ध्यान पुर्याउने बताउनुभयो ।
आफु प्रधानमन्त्री भएपछि मुलुकमा कसैमाथि अङ्कुश लगाउने काम नभएको तथा शान्ति छाएको उहाँले बताउनुभयो ।
कार्यक्रममा नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्र र संविधानको रक्षा गर्न गठबन्धन जरुरी रहेको बताउनुभयो । स्थानीय तहको निर्वाचनमा कुनै प्रकारको दुबिधा नराखी गठबन्धनको पक्षमा उभिन्न उहाँले आग्रह गर्नुभयो ।
महामन्त्री विश्वप्रकाश शर्माले स्थानीय सरकारको जनप्रतिनिधि छान्ने चुनावी अभियानमा युवापुस्तालाई सक्रिय रुपमा सहभागी हुन आग्रह गर्नुभयो ।
केन्द्रिय सदस्य डा. शेखर कोइरालाले सुन्दर र समुन्नत विराटनगर बनाउने अभियानमा जुट्न आग्रह गर्नुभयो ।
कार्यक्रममा नेता महेश आचार्य, डा. मिनेन्द्र रिजाल तथा काँग्रेस केन्द्रिय सदस्य डा डिला सङ्ग्रौला, अमृत अर्याल तथा भीम पराजुलीले स्थानीय तहको निर्वाचनको महत्त्वमाथि प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा नेपाली काँग्रेस प्रदेश १ सभापति उद्धव थापा, नेपाली काँग्रेस मोरङ सभापति डिकबहादुर लिम्बु तथा विराटनगर महानगरपालिका प्रमुखका उम्मेदवार नागेश कोइराला तथा उपप्रमुखका उम्मेदवार जनता समाजवादी पार्टीका अमरेन्द्र यादवले पनि आ–आफ्नो धारणा राख्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्