भोजपुरका कर्मचारी र शिक्षकले बुझाए मुख्य निर्वाचन अधिकृतको कार्यालयमा प्रज्ञापत्र पत्र

भोजपुर । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय भोजपुरले प्रकाशित गरेको अधिकृत र सहायक मतदान अधिकृतको नामावली मर्यादाक्रम विपरीत भएको भन्दै जिल्लामा क्रियाशील कर्मचारीको आधिकारिक ट्रेड युनियन र शिक्षक महासङ्घले सो सच्याउन माग गरेको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मुख्य निर्वाचन अधिकृतलाई निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनका जिल्ला अध्यक्ष खडगबहादुर पौड्याल र शिक्षक महासङ्घ भोजपुरका सचिव हरि गौतमले हस्ताक्षर गरेको ज्ञापन पत्र बुझाइएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सोमवार अधिकृत र मङ्गलवार सहायक मतदान अधिकृतको नामावली प्रकाशित गरेको थियो । ज्ञापन पत्र बुझ्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट कमजोरीलाई सुधार गर्ने प्रतिबद्धता आएको छ ।
ज्ञापन पत्रमा भनिएको छ, “आसन्न स्थानीय तह निर्वाचनको प्रयोजनका लागि प्रकाशित मतदान अधिकृत र सहायक मतदान अधिकृतहरूको नामावलीमा राष्ट्रसेवक कर्मचारी तथा शिक्षकहरूको पद सोपानमा तहगत श्रेणीगत मर्यादाक्रम नमिलेको, तह र श्रेणी उल्लेख गर्दा त्रुटि देखिएको र निर्वाचन आचार संहिता विपरीत ट्रेड युनियनका पदाधिकारीहरूको समेत नाम समावेश गरिएको पाइएकाले उक्त अनियमित, अमर्यादित र निर्वाचन आचार संहिता विपरीत भएको सो नामावली सच्याउन यो ज्ञापन पत्र पेश गरिएको ब्यहोरा अनुरोध छ । ”
जिल्ला प्रशासन कार्यालय र जिल्ला निर्वाचन कार्यालयलाई समेत बोधार्थ दिएर बुझाइएको ज्ञापन पत्रमा नामावली नसच्चिएमा तोकिएको जिम्मेवारी बहन गर्न राष्ट्रसेवक कर्मचारी तथा शिक्षकहरू बाध्य नहुने समेत उल्लेख गरिएको छ ।
नायव सुब्बाहरू मतदान अधिकृत भई रहँदा अधिकृत स्तरका कर्मचारी र शिक्षकहरूलाई सहायक मतदान अधिकृत बनाइए पछि असन्तुष्टि बढेको थियो ।








प्रतिक्रिया राख्नुहोस्