उदयपुरमा माओवादी केन्द्रका ११ जना नेता कार्यकर्ताहरू निलम्बनमा
उदयपुर । उदयपुरमा नेकपा माओवादी केन्द्रका ११ जना नेता कार्यकर्ताहरू निलम्बनमा परेका छन् । पार्टीले आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीको हित विपरीत काम गरेको भन्दै उनीहरूलाई निलम्बन तथा कारबाहीको लागि सिफारिस गरेको हो ।
जसमा पार्टीको हित विपरीत जथाभाबी उम्मेदवारी दिएको भन्दै ८ जना कार्यकर्तालाई निलम्बन गरेको हो । निलम्बन पर्नेहरूमा चौदण्डीगढी नगरपालिकाका सन्तोष सुवेदी ‘बलिदान’, कमलध्वज राई, र तिलक राई रहेका छन् । त्यसैगरि लिम्चुङबुङ गाउँपालिकाका होम बहादुर राई ‘होम किराँती’ र भिमबहादुर राई रहेका छन् । यसैगरि त्रियुगा नगरपालिकाका लागि उपाध्यक्ष पदमा उम्मेदवारी दिएकी सावित्रा थापा र जिल्ला समन्वय समिति सदस्य रामप्रसाद बराल रहेका छन् ।
केन्द्रमा कारबाहीको लागि सिफारिस पर्नेहरूमा प्रदेश सदस्य कटारी नगरपालिकाका केपी बराल र त्रियुगा नगरपालिकाका भिमबहादुर अधिकारी (अनिल) र प्रदेश विभाग प्रमुख यदु ढकाललाई भने कारबाहीको लागि केन्द्रमा सिफारिस गरिएको प्रेस वक्तव्यमा उल्लेख छ ।
चौदण्डीगढीका कमलध्वज र तिलकले स्वतन्त्रबाट मेयर र सदस्य पदमा उम्मेदवारी दिएका छन् । वक्तव्यमा उल्लेख भएअनुसार उनीहरूलाई ‘पार्टीको विधानको धारा ५६ (१) अनुसारको कसुर ठहर गरी धारा ५६ (२) अनुसार प्रदेश समितिका सदस्यहरूलाई निष्कासनको सिफारिस तथा प्रदेश मातहतका अन्य समितिका सदस्य पदाधिकारीहरूलाई र पार्टी सदस्यमा पार्टीको कुनै जिम्मेवारी नरहने गरी निलम्बन गरिएको छ ।’








प्रतिक्रिया राख्नुहोस्