मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक

काठमाडौँ । सरकारले दिवा शिशु स्याहार केन्द्र सञ्चालनका लागि निजामती कर्मचारी श्रीमती सङ्घसँग थप ५ वर्षको सम्झौता गर्न महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई स्वीकृत दिने निर्णय गरेको छ ।
हिजो बसेको मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक गर्न सिंहदरबारमा आज आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले कोष तथा लेखा नियन्त्रक कार्यालय खोटाङको लागि जग्गा प्राप्ति गर्न स्वीकृति प्रदान गरेको जानकारी दिनुभयो ।
यस्तै सरकारले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समिति गठन आदेश, २०७९ स्वीकृत गरेको छ ।
लोकसेवा आयोगको सिफारिसमा विभिन्न सेवा समूहका राजपत्राङ्कित द्वितीय श्रेणीका तीन जना अधिकृतहरूलाई राजपत्राङ्कित प्रथम श्रेणीमा बढुवा गर्ने समेत सरकारले निर्णय गरेको छ ।
यसैगरी मन्त्रीपरिषद् बैठकले आजैदेखि लागु हुनेगरी प्रहरी अतिरिक्त महानिरीक्षकहरूमध्ये धिरज प्रताप सिंहलाई प्रहरी महानिरीक्षक पदमा बढुवा नियुक्ति गरेको मन्त्री कार्कीले जानकारी दिनुभयो ।
सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री कार्कीले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक राजु अर्याललाई पनि आजैदेखि लागू हुनेगरी सशस्त्र प्रहरी महानिरीक्षक पदमा बढुवा नियुक्ति गरिएको जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्