तपाईँ सुन्दै हुनुहुन्छः

स्थापितलाई आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौँ । निर्वाचन आयोगले काठमाडौँ महानगरपालिकाका नेकपा एमालेका तर्फबाट मेयरका उम्मेदवार केशव स्थापितलाई आज एक पत्र पठाएर स्पष्टीकरण सोधेको छ । 

स्थापितले कार्यक्रममा बोलेका कुरालाई लिएर आयोगमा उजुरी परेपछि त्यसबारे के भएको हो भनी २४ घण्टे स्पष्टीकरण सोधिएको आयोगका सूचना अधिकारी सूर्य प्रसाद अर्यालले जानकारी दिनुभयो ।

केही दिनअघि स्थापितले नेशनल कलेजको एक अन्तरक्रिया कार्यक्रममा प्रश्न सोध्ने महिलामाथि गरेको व्यवहारलाई लिएर स्पष्टीकरण सोधिएको बताउनुभयो ।  कार्यक्रममा स्थापितलाई एक महिलाले उनीमाथि लागेको ‘मिटु’ का बारेमा प्रश्न गरेपछि स्थापित आक्रोशित हुँदै ‘यु आर ब्युटीफुल लेडी, तर थुतुने ठिक भएन’ जस्ता अभिव्यक्ति दिनुभएको थियो ।

उम्मेदवार स्थापितको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उहाँको उम्मेदवारी खारेजीको माग गर्दै संयुक्त विज्ञप्ति जारी गर्ने गैरसरकारी संस्थाहरूलाई पनि २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न पत्राचार गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button