तपाईँ सुन्दै हुनुहुन्छः

मुसलमान समुदायका नागरिकले मङ्गलबार इदुलफित्र मनाउँदै

विराटनगर। इस्लाम धर्मावलम्बीले मनाउने महान् पर्व इदुलफित्र मङ्गलबार मनाइँदैछ ।इदगाहमा गएर सामूहिक नमाज(प्रार्थना) गरी मनाउने यो पर्वमा मानिसले एकआपसमा अँगालो मारेर इदमुबारक (बधाई तथा शुभकामना) साटासाट गर्ने गर्दछन् ।

गएको चैत २० गतेदेखि सुरु भएको रमजान आज सम्पन्न हुँदैछ । एक महिनासम्म चल्ने यो पर्वमा मुसलमान दिनमा निराहार बस्छन् । रोजा बस्न बिहान तोकिएको समय अगावै र बेलुका तोकिएको समयपछि भोजन लिने गर्दछन् । रमजान उर्दु क्यालेण्डर अनुसार हिजरी संवत् १४४३ हो भने रमजान नवौँ महिना हो । रमजान महिनामा नै मुसलमानको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको हो भने यो महिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास लिएको छ ।

दान दिनु, गरिब तथा दिन दुःखीको सेवा गर्नु र जकात निकाल्नु यो महिनाको ठूलो विशेषता हो । सुनसरी सोनापुरका हाजी मोहम्मद अब्दुलले रमजान महिना मुस्लिम समुदायका लागि निकै महत्त्वपूर्ण एवं पवित्र हो र यसमा मुसलमानका पाँच आधार स्तम्भमा हजबाहेक सबै स्तम्भ पूरा हुने जानकारी दिनुभयो ।

शरीरलाई चोखो राखेर मात्र रोज बस्नुपर्छ । कुलतमा लागेका मानिस एक महिना इमानदारीपूर्वक रोजा बस्न सक्यो भने चुरोट, खैनी, गुट्खा आदि पदार्थ खाने बानीमा परिवर्तन आउनसक्ने अनुमान गर्न सकिन्छ । त्याग, तपस्या र बलिदान सबै जोडिने यो पर्वमा मुसलमान रोजा बस्ने काम गर्वका साथ गर्ने गर्दछन् । नबालक, बिरामी, घातक रोग लागेका र गर्भवती महिलालाई भने रोजा बस्न अनिवार्य छैन ।

यस पर्वमा बिर्यानी, पुलाउ, सेबइ, दुग्धजन्य पदार्थ, मासुका परिकार, फलफूल आदि खाने प्रचलन छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button