असिना पानीबाट स्याउमा क्षति
जुम्ला । जुम्लामा शनिबार बेलुका परेको असिना पानीले स्याउ खेतीमा क्षति पुर्याएको छ । सिञ्जाको जोडु, रुघा, काँडागाउँ, भाडगाउँ, फुंग्रा र शनिगाउँमा असिना पानीले स्याउ खेतीमा क्षति पुर्याएको हो ।

‘केही स्याउमा स–साना दाना लागिसकेको थियो । केही बिरुवामा चिचिला पलाउँदै थियो । सिञ्जा-६ का विज्ञान बुढाले भन्नुभयो, ‘यो वर्ष असिनाले स्याउ सखाप बनायो । किसान निकै चिन्तित छन् । मेरो बगैँचामा ९० बोट स्याउले फल दिँदै आएका थिए । यो पटक राम्रो फल लाग्ने आस थियो । असिना पानीले किसानको आशा निराशामा बदलिदियो ।’
हावाहुरीसँगै आएको असिना पानीले वर्षभरिको दुःख खेर गएको किसानले दुखेसो पोखेका छन् । बगैँचाभरि दाना र चिचिला झरेका छन्, बोट रित्तिएका छन् ।
किसान बूढाका अनुसार असिना पानीले जिल्लाका अधिकांश किसानको स्याउ बगैँचामा धेरै मात्रामा क्षति पुगेको छ ।
मानबहादुरले एउटै स्याउ बगैँचाबाट न्यूनतम ५ लाख रुपैयाँ कमाउँदै आएका छन् । यो वर्ष स्याउ लाग्ने समयमा असिना पानीले किसानलाई घाटा गरेको उहाँको भनाई छ । बिमा नगरेका कारण राहत क्षतिपूर्ति नपाउने उनको दुखेसो छ ।
स्याउ बिमा गरेका किसानलाई केही सहज भए पनि अन्य किसानलाई जीविकोपार्जनमा समस्या हुने समेत देखिएको छ । स्याउ मात्र होइन असिनाले तरकारी बाली समेत नष्ट गरेको छ ।

स्याउ खेतीमै आश्रित समुदायलाई यस वर्ष पेट पाल्नै धौधौ हुने अवस्था आएको कृषि विज्ञहरूले बताएका छन् । असिना पानीले स्याउसँगै आरु, ओखर, खुर्पानी लगायतका सबै फलफूलका बिरुवाको फूल र दाना झारेको छ ।
भित्र्याउनै आँटेको जौ, आलु र गहुँ बाली पनि नष्ट गरेको छ । आलु, काँक्रो, फर्सी, प्याज, गोलभेँडा, काउली, गाजर र खुर्सानी लगायतमा असिनाले क्षति पुर्याएको स्थानीय जगत बुढाले बताउनुभयो । असिना पानीले करिब करोड रुपैयाँ बराबरको तरकारी तथा स्याउमा क्षति पुर्याएको अनुमान गरिएको छ ।
दुई वर्ष पहिले १२ हजार मेट्रिक टन स्याउ उत्पादन भएको जुम्लामा बितेको वर्षमा ५१ सय मेट्रिक टन मात्रै स्याउ उत्पादन भएको छ । यस वर्ष पनि स्याउ उत्पादन घट्ने अनुमान गरिएको कृषि कार्यालयले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्