तपाईँ सुन्दै हुनुहुन्छः

बेनीमा निःशुल्क मुटु रोग शिविर सुरु

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा दुई दिने निःशुल्क मुटु परीक्षण स्वास्थ्य शिविर सुरु भएको छ ।

वरिष्ठ मुटु रोग विशेषज्ञ डा अनिल भट्टराईको नेतृत्वमा काठमाडौँमा रहेको सेभ द हार्टको आयोजना, म्याग्दीको ओमकुमारी शान्ति कोष र म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) कतार तथा इशा फाउन्डेसनको सह–आयोजनामा गरिएको शिविरको शुक्रवार बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले उद्घाटन गर्नुभयो ।

कार्यक्रमका ढकालले मुटु शरीरको संवेदनशील अङ्ग भएकाले यसको सुरक्षा आवश्यक हुने बताउनुभयो । उहाँले सरकारले जटिल रोगका बिरामीको उपचार निःशुल्क गर्ने व्यवस्था गरे पनि रोगै लाग्न नदिन पूर्व सचेतनाका कार्यक्रम सञ्चालन नभएको बताउनुभयो ।

कार्यक्रममा वरिष्ठ मुटु रोग विशेषज्ञ डा भट्टराईले सेभ द हार्टले देशव्यापी रूपमा शिविर सञ्चालन गर्दै आएको बताउनुभयो । म्याग्दीसहित २३ जिल्लामा विभिन्न समयमा आयोजना गरिएका ९५ वटा शिविरमा हालसम्म करिब ९६ हजार मुटु रोगीको परीक्षण गरिएको डा भट्टराईले बताउनुभयो ।

शिविरमा मुटु रोगसम्बन्धी अनुभवी चिकित्सकको टिम खटिएकाले बिरामीका लागि शिविर लाभदायक हुने शिविरका संयोजक नेपाल पत्रकार महासङ्घ म्याग्दी शाखाका उपाध्यक्ष समेत रहनुभएका पत्रकार हरिकृष्ण गौतमले बताउनुभयो ।

सेभ द हार्टका महासचिव शेरबहादुर रानाले शिविरमा आउने बिरामीको मुटुसम्बन्धी जटिल समस्या देखिएकालाई काठमाडौँ लगेर उपचार गराइने बताउनुभएको छ । अति विपन्न परिवारका बिरामीलाई संस्थाको तर्फबाट आवश्यक आर्थिक सहयोगसहित उपचारको व्यवस्थापन गर्ने रानाको भनाइ छ ।

बेनी अस्पतालमा सुरु भएको शिविरमा मुटु परीक्षणका लागि म्याग्दी लगायत छिमेकी जिल्लाबाट पनि सयौँको सङ्ख्यामा बिरामी आएका छन् ।

अस्पतालभित्र पाँच वटा ओपिडी कक्ष तयार गरी बिरामी परीक्षण गर्ने व्यवस्था मिलाइएको छ । शुक्रवार बिहानैदेखि बिरामी लाइनमा बसेका छन् । शिविरमा डा भट्टराईको नेतृत्वमा करिब ४० जनाको टोली उपचारमा संलग्न छ ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button